| बुधबार, कार्तिक २५, २०८३

खानीगाउँका ३२ घर पहिरोको जोखिममा

गोरखाको धार्चे गाउँपालिका वडा नं ७ खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेको छ । निरन्तर पानी परेका कारण गाउँका सबै घरको जमिनमा चिरा परेसँगै खानीगाउँका ३२ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडा नं. ७ का वडा सदस्य पन्दुर गुरुङले बताए ।

घरको जमिनका सबै चिरा परेकाले स्थानीयहरु दिउसो घरमै बस्ने र बेलुका खाना खाएपछि आफन्तको घर तथा सुरक्षित स्थानमा गएर सुत्न जानुपर्ने बाध्यता रहेको उनले बताए । ‘२०७२ सालको भूकम्पपछि खानी गाउँमा जमिन चिरा पर्न सुरु भएको हो तर यहि साउन २८ गतेको निरन्तरको बर्षातपछि भने खानीगाउँमा रहेका ३२ वटै घरमा चिरा परेको छ’, उनले भने, ‘घरको जग पुरै तल सदै जादा प्रत्येक घरमा एक वित्ता लामो चिरा परेको छ, यसले धेरै जोखिम बढाएको छ ।’ अहिलेसम्म एउटा पनि घर नढलेको तर घरभित्र बस्न भने अन्यन्तै जोखिममा परेको उनले बताए । यसले बुढापाका र बालबच्चालाई धेरै समस्या भएको उनको भनाइ छ ।

स्थानीयहरु बेलुका भएपछि घरमा खाना खाएर कम्पल बोकी छिमेकी तथा आफन्तको र विद्यालय नजिककैका सुरक्षित स्थानमा बास लिइरहेको उनले बताए । स्थानीयहरुको सुरक्षित स्थानमा स्नातान्तरणका लागि पालिकाबाट अध्ययन भइरहेको पनि वडा सदस्य गुरुङले जानकारी दिए ।

त्यस्तै, स्थानीयहरुलाई सहजताका लागि मंगलबार गाउँपालिकाले १२ थान त्रिपाल वितरण गरिएको र थप त्रिपाल वितरणका लागि पहल भइरहेको गाउँपालिका प्रमुखका स्वकीय सचिव राज गुरुङले बताए ।

३२ घरका एक सय ५ जना स्थानीय प्रभावित भएको बताउदै पहिरोको जोखिम भएकाले स्थानीय जनप्रतिनिधिहरुले दिउसो घरमा बसे पनि रातीको समयमा सुरक्षित स्थानमा बस्न अनुरोध गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्