| बुधबार, कार्तिक २५, २०८३

गोरखाको क्वार्ज क्रिस्टल गोरखामै राख्न प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष ज्ञापनपत्र


गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्न पाउनु पर्ने माग राख्दै गोरखा नगरपालिका, गोरखा उद्योग वाणिज्य संघसहितका विभिन्न संघसंस्थाले प्रधानमन्त्री र गृहमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।


गोरखाका सांसद राजेन्द्र बजगाईसहित गएका गोरखा नगरपालिका, गोरखाका प्रमुख राजनीतिक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्बर अफ कमर्श, ज्येष्ठ नागरिक जिल्ला संघ, गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र, लायन्स क्लव अफ गोरखा लगायतका संस्थाहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
गोरखा नगरपालिका ७ की राममाया शाहीको घरमा भेटिएको र हाल जिल्ला प्रहरी कार्यालयमा सुरक्षित गरिएको ५२.३३० किलोग्राम क्वार्ज क्रिस्टललाई खानी तथा भूगर्भ विभागले विभागमा बुझाउन सिफारिस गरेपछि नगरपालिकासहितका सामाजिक संघसंस्थाले गोरखाको धार्मिक तथा ऐतिहासिक सम्पत्ति बाहिर नलैजान माग गरेका हुन् ।


नेपाल एकीकरणको क्रममा शक्ति आर्जनका लागि पुज्ने गरेको सो रत्नपत्थर गोरखामा लगेर सुरक्षित राख्न नुवाकोटको देवीघाटबाट जीवनको अन्तिम समयमा पृथ्वीनारायण शाहले बाघवीर शाही र गणेशमान शाहीको जिम्मामा पठाएको हुँदा यसलाई गोरखाबाट बाहिर लैजान नहुने सो ज्ञापन पत्रमा लेखिएको छ । गोरखाको ऐतिहासिक बिरासत बोकेको तथा दसौँ पुस्तादेखि पूजा गर्दै आएको सो धार्मिक रत्नलाई गोरखा दरबारमा सुरक्षित गरी राख्न पाउनु पर्ने माग गरिएको छ ।


सो ज्ञापन पत्र मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, गुरु गोरक्षधाम शक्तिकेन्द्रका होमसिँह बस्नेत, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्केले मंगलबार संयुक्त रुपमा प्रधानमन्त्री दाहाल तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष पेश गरेका हुन् ।


ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री र गृहमन्त्रीले त्यसका लागि सकारात्मक प्रतिक्रिया दिएका भगवानबाबु मास्केले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्