| बुधबार, कार्तिक २५, २०८३

बाढी र पहिरोले हिक्लुङ पुल क्षतिग्रस्त सामागाउँको पुल पनि बगायो

केहीदिनदेखि परेको अविरल बर्षापछिको बाढीले गोरखाका विभिन्न ठाउँमा पुल बगाएको छ ।

अबिरल बर्षापछि आइतबार साँझ त्रिशुली नदीमा आएको बाढीले हिक्लुङको झोलुंगेपुल क्षतिग्रस्त पारेको छ । आइतबार राती त्रिशुली नदीमा आएको बाढीको उच्च बहावले झोलुंगेपुल क्षतिग्रस्त बनाएको स्थानीय भीमलाल चेपाङले जानकारी दिए ।
‘गएराति त्रिशुलीमा यति ठूलो बाढी आयो कि, पुलै नाघ्यो’, उनले भने, ‘पुलको १० वटा जति प्यानल लगेको छ । पुल पनि कर्के पारेको छ ।’ पुल क्षतिग्रस्त भएपछि अब हिड्न नमिल्ने भएको उनले बताए । ‘हिक्लुङ, थुम्का, बालकी, कोराकका मान्छेहरु अब त्रिशुली कसरी तर्ने भन्ने चिन्ता भयो’, उनले भने, ‘अब कि फेरि तुइन हाल्नु पर्ने भयो, कि त्यही प्यानलन भएको पुलमा लठ्ठामा झुण्डिर तर्नुपर्यो ।’

यहाँभन्दा माथि कौदी फाँटमा र तल हुग्दीमा पनि झोलुंगे पुल छ तर त्यहाँसम्म पुग्न त्यस क्षेत्रका बासिन्दालाई अनुकूल नहुने स्थानीयको भनाइ छ ।

धादिङको बेनिघाट रोराङ १० स्थित पृथ्वीराजमार्ग जोड्ने गरी गोरखाको गण्डकी गाउँपालिका ६ हिक्लुङमा २०७५ सालमा यो पुल बनेको थियो । त्यसअघि यहाँका बासिन्दा तुइनबाट वारपार गर्ने गर्थे ।

हिमालपारि रहेको चुमनुब्री गाउँपालिका १ सामागाउँस्थित वीरेन्द्र ताल खोलाको बाढीले पुल बगाएको छ । केहीदिनदेखिको अबिरल बर्षापछिको बाढीले त्यहाँको काठेपुल बगाएको स्थानीय स्वास्थ्यचौकीका लक्ष्मण कार्कीले जानकारी दिए । पुल गएराती नौ बजे बगाएको उनले बताए ।

त्यहाँको पुल बगाएपछि सामागाउँ र साम्दो गाउँका बासिन्दा आवतजावत बन्द भएको छ । सामागाउँका करिब १५० घरधुरी र साम्दोका करिब ५० घरधुरीका बासिन्दालाई आवतजावतमा असुविधा भएको उनले बताए । साथै मनास्लु बेसक्याप जाने तथा लार्केपासका लागि जाने पर्यटकलाई असुविधा हुने भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्