
क्वार्ज क्रिष्टल जिल्ला बाहिर लान नदिने अडानसहित प्रजिअलाई ध्यानाकर्षण
प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल ढुंगालाई विधिवत रुपमा गोरखामै स्थापना गरेर राख्न माग गर्दै गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रले पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।
शुक्रवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै केन्द्रले उक्त ढुंगा अलौकिक दिव्य शिला रहेकाले सबैले देख्न र दर्शन गर्न पाउने गरी गोरखा दरवारमा राख्न माग गरिएको छ ।
‘पहुँचको आधारमा धार्मिक र न्यायिक प्रथाभन्दा बिपरित मोल मूल्यमा अनेक वहाना बनाई वा विविध कारण देखाई जिल्लाको अलौकिक शिला बाहिर जानबाट रोक्न गोर्खाली जनता तयार छौ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
जिल्ला बाहिर लान नदिनका लागी बिहीवार जिल्लाका बिभिन्न संघसंस्था, क्लब, टोल बिकास समिति, बुद्धिजिवी र अग्रजहरुको सामूहीक भेला समेत भएको ध्यानाकर्षण पत्रमा भनिएको छ । भेलाले उक्त ढुंगालाई जिल्ला बाहिर लानबाट रोक्न हदसम्म तयार हुने निर्णय समेत गरेको बताइएको छ ।




