| बुधबार, कार्तिक २५, २०८३

प्रहरी कार्यालयभित्र रहेको रत्नपत्थर ‘जेम्सस्तरको क्वार्ज क्रिस्टल’ भएको पुष्टि

गोरखा नगरपालिका ७ सतिपिपलका राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको टल्कने ढुंगा जेम्सस्तरको क्वार्ज क्रिष्टल भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । दुईदिन लगाएर विभागका भूगर्भविद्को टोलीले नमूना परीक्षण गरेपछि सो ढुंगा क्वार्ज क्रिस्टल नै भएको पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

साथै सो टोलीले गरेको परीक्षण प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र एसपी अनुपम श्रेष्ठलाई नमूना परीक्षणपछिको प्रतिवेदन बुझाएका छन् ।

विभागकी भूगर्भविद डाक्टर सुस्मिता भण्डारीले उक्त ढुंगा महत्वपूर्ण र बहुमुल्य रत्नपत्थर भएको बताइन् । भूगर्भविद्को टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद डाक्टर भण्डारीले उक्त कडापनका आधारमा उक्त चट्टान ७ औं नम्वरमा रहेको जानकारी दिए । कडापनका आधारमा हिरा १० औं नम्वरमा पर्ने उनको भनाइ छ ।

५२ किलो ३ सय ३० ग्राम तौलको एउटै चट्टान भेटाउन पनि मुस्किल पर्ने उनले बताए । प्रहरीले गोरखा नगरपालिका ७ सतिपिपलबाट गत असार १४ गते उक्त ढुंगा बरामद गरेको थियो । लाखौं रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाई भैरहेको सूचनाका आधारमा ढुंगा राखिएको घरमा छापा मारेर बरामद गरिएको हो ।

जिल्लास्थित विभिन्न सामाजिक संघसंस्थाले उक्त ढुंगालाई गोरखा दरवार परिसरमा स्थापना गर्नुपर्ने माग गर्दै आएका छन् । ढुंगाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । सोही आधारमा विभागले भूगर्भविद् डाक्टर सुस्मिता भण्डारी र दुर्गा बोलाखेलाई गोरखा पठाएको हो ।

उक्त क्वार्ज क्रिष्टल मुख्य रुपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरुमा पनि आंशिक रुपमा क्वार्ज क्रिष्टलको प्रयोग हुने गरेको भूगर्भविद् भण्डारीले बताइन् ।

अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुंगा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा उल्लेख गरिएको छ । विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन् संकलन गर्न नपाइने र गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको भूगर्भविद् भण्डारीको भनाई छ ।

विभागको टोलीसँगको भेटमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले ऐतिहासिक र धार्मिक हिसावले उक्त पत्थरलाई गोरखामै राख्नु पर्ने बताए । जिल्लास्थित दर्जन बढी सामाजिक संघसंस्थाले पनि उक्त पत्थरलाई गोरखा दरवार परिसरमा स्थापना गरि संरक्षण गरेर राख्नुपर्ने माग गर्दै आएका उनको भनाई छ ।

गोरखामै राख्नेबारे नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गर्नका लागि समय चाहिने भएकाले तत्काल प्रहरी कार्यालयमै रहने ब्यवस्था मिलाउन पनि नगरप्रमुख रानामगरले विभागका भूगर्भविद्हरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्