
गुम्दामा भदौ २ देखि ५ गतेसम्म आलु मेला हुने, खेलाडीलाई आलु पुरस्कार
आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लवले आउँदो भदौ २ देखि ५ गतेसम्म गुम्दा आलु मेला २०८० आयोजना गर्न लागेको हो ।
‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला, संस्कृति, पर्यटनको प्रवद्र्धनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला हुने आयोजकले जनाएको छ । ऐतिहासिक गुम्दा आलु मेलामा जिल्लास्तरीय अन्तर क्लव पुरुष र महिला भलिबल प्रतियोगिता तथा स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम हुने क्लवका उपाध्यक्ष मितिराज गुरुङले बताए ।
मेलामा हुने पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश ६० हजार, ४० हजार, ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । महिला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश १६ हजार, १२ हजार, १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त उनले उनले बताए । प्रतियोगितामा पुरुष र महिला भलिबल प्रथम, दोस्रो र तेस्रो हुने सबै टिमलाई तीन÷तीन पाथी आलु समेत दिइने उपाध्यक्ष गुरुङले बताए ।
मेलामा लोक नृत्य प्रतियोगितामा पनि आयोजना हुनेछ । सो प्रतियोगितामा प्रथमले १५ सय सहित सुनको औठी, द्वितीय हुनेले एक हजार सहित चाँदीको औठी, तृतीय हुनेले आठसयसहित चाँदीको औठी प्रदान गरिने उनले बताए । यसका साथै पहिलो, दोस्रो र तेस्रो हुनेलाई दुई÷दुई पाथी आलु समेत वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य आकर्षणमध्ये आलु खाने प्रतियोगितासमेत हुनेछ । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १२ सय, एक हजार, आठ सय सहित २÷२ पाथी आलु प्राप्त गर्नेछन् ।
त्यस्तै, मूर्ति नाँच प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १२ सय, एक हजार, आठसयसहित दुई÷दुई पाथी आलु प्रदान गरिने क्लवका उपाध्यक्ष मितिराज गुरुङले जानकारी दिए । उनका अनुसार मेलाकै अवसरमा आयोजना गरिने सटपुट प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश दुई हजार, १५ सय, एक हजार सहित दुई÷दुई पाथी आलु पाउने छन् । तीर हान्ने प्रतियोगिता र हाँडी फुटाइ प्रतियोगितामा प्रथम हुने एक जनाले नगद एक÷एक हजार सहित दुई÷दुई पाथी आलु वितरण गरिने उनले बताए ।
त्यस्तै, आलु तथा हस्तकला प्रदर्शनीमा राखिएकामध्ये पाँच जना उत्कृष्ट कृषकलाई नगद सहित सम्मान गरिने बताइएको छ ।
स्थाानीय स्तरमा उत्पादन भएको आलुको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि प्रतियोगितामा सहभागी भई पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कारसँगै आलु प्रदान गर्ने व्यवस्था गरेको उनले जानकारी दिए ।
उनका अनुसारमा आलु मेलामा हुने भलिबल प्रतियोगितामा सहभागी हुनका लागि प्रतिटिमको दर्ता शुल्क ६ हजारसहित भदौ १ गते बेलुकासम्म दर्ता गरिसक्नुपर्नेछ ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, विशिष्ट अतिथिका रुपमा पूर्वराज्यमन्त्री छमबहादुर गुरुङ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ लगायतका अतिथिको उपस्थितिमा कार्यक्रम हुने आयोजकले बताएको छ ।
धार्चेको गुम्दा, लाप्राक लगायतका आसपासका गाउँलाई आलु पकेट क्षेत्रका रुपमा चिन्ने गरिन्छ । यहाँको मुख्य खाद्यान्न बाली नै आलु हो । यहाँ उत्पादित आलुहरु जिल्लाका सदरमुकाम तथा विभिन्न स्थानीय तहसँगै पोखरा, काठमाडौ लगायतका जिल्लामा निर्यात हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष धेरै आलु उत्पादन भएको तर कच्ची सडकका कारण मोटर बाटो संचालन नहँुदा त्यहाँ उत्पादित आलु समयमै बजारसम्म पु¥याउन नपाएको स्थानीय कृषकहरु बताउँछन् ।




