
गोरखामा २९ औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइयो
गोरखा सदरमुकाममा २९ औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएकोे छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, गोरखाको आयोजनामा बुधबार शुभकामना आदानप्रदान गर्दै आदिवासी दिवस मनाइएको हो ।
पहिचान र अधिकारको सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान, सीपको प्रबद्र्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्कृति संरक्षण गरौँ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष विष्णु राना मगरले आदिवासी समुदायको पहिचान संरक्षण गर्नका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
उनले आदिवासी जनजाति समुदायलाई प्रशासनिक क्षेत्रमा अघि बढाउनका लागि महासंघले यसअघि लोकसेवा आयोगको तयारी कक्षा लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले आदिवासी जनजातिको पहिचान, अधिकार संरक्षण गर्दै नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरणमा सबैले जोड दिनुपर्ने बताए । त्यस्तै, गोरखा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले आदिवासी जनजातिहरु लाहुरे मात्र नभई देशको प्रशासनिक क्षेत्रमा पनि अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले लागु औषध तथा दुव्यर्सनी न्यूनीकरण सम्बन्धी चेतनामुलक प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा तमु ह्युल छोँज धि गोरखाका अध्यक्ष रामबहादुर गुरुङ, तामाङ घेदुङका केन्द्रीय सदस्य सुकदेव तामाङ, नेपाल आदिवासी जनजाति आदिवासी महिला महासंघ जिल्ला अध्यक्ष मीना गुरुङ, आदिवासी जनजाति महासंघ पत्रकार महासंघ(फोनिज) मेलिना बराम, नेवादेय दबु केन्द्रीय सदस्य विद्या मास्के, आदिवासी जनजाति महासंघ गोरखाका कोषाध्यक्ष देवीप्रसाद श्रेष्ठ र लिलः फङ समाजका जिल्ला अध्यक्ष रामबहादुर घले लगायतले मन्तव्य राखेका थिए ।




