
धार्मिक विद्यालयको पढाइले सरकारी मान्यता नपाउँदा विद्यार्थी मर्कामा
केशव गुरुङ :
गोरखा नगरपालिका–८ की सुक्रिया खातुन गोरखा मोर्डन बोर्डिङ स्कूलमा कक्षा आठमा पढ्छिन् । दिनभर विद्यालयकै अध्ययनमा व्यस्त रहने उनलाई बिहान पनि फुर्सद छैन । बिहान ६ बजे उठेर उनी मदरसा पढ्न जान्छिन् । दोहोरो पढाइको धपडीले उनी शारीरिक तथा मानसिक पीडामा छिन् ।
धार्मिक विद्यालयको पढाइले सरकारी सरह मान्यता नपाउँदा उनी जस्तै अन्य बालबालिकाहरु यस्तै समस्या झेल्न बाध्य छन् । धार्मिक विद्यालयमा बर्र्षौँ धार्मिक पाठ्यक्रम पढेपनि साधारण विद्यालयमा समान तहको मन्यता नपाएका कारण मदरसा र गुम्बा पढ्ने विद्यार्थीहरु मर्कामा परेका छन् ।
जिल्लाको पाँच स्थानीय तहमा कुल २१ वटा मदरसा छन् । उक्त मदरसामा मुस्लिम समुदायको धार्मिक बिषय पठनपाठन हुँदै आएको छ । गोरखा नगरपालिकामा १३, गण्डकी र भीमसेन थापामा एक÷एक, आरुघाट, सिरानचोक र पालुङटारमा दुई÷दुई वटा मदरसा रहेको नेपाल मुस्लिम संघ गोरखाका अध्यक्ष जमिल मियाँले बताए ।
उनकाअनुसार उक्त मदरसामा करिव एक हजार विद्यार्थी धार्मिक बिषय पठनपाठन गर्दै आएका छन् । उनीहरुमध्ये करिव ९० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पनि अध्ययन गर्छन् । धार्मिक विषयको पढाइले सरकारी विद्यालयको समान तहको मान्यता नपाएका कारण दुवै ठाउँको पढाइलाई एक साथ लानुपर्ने बाध्यता बिद्यार्थीमा रहेको मियाँले बताए । सरकारी पाठ्यक्रममा मुस्लिम समुदायको धार्मिक विषयलाई पनि समावेश गर्नुपर्ने उनको माग छ । ‘धार्मिक विद्यालयलाई पनि समान तहमा मान्यता दिने भनेर उल्लेख गरेको छ, तर व्यवहारमा त्यस्तो छैन’, मियाँले भने ।
धार्मिक बिषयले सरकारी मान्यता नपाउँदा बर्षौँबर्ष मदरसामा पढेर पनि सामुदायिक विद्यालयमा सुरुको कक्षादेखि नै पढ्नुपर्ने बाध्यता बिद्यार्थीलाई भएको मदरसाका शिक्षक मौलाना रियाजुदिनले बताए । सरकारले चासो नदिएकोे र विद्यालय संचालनका लागि पर्याप्त रुपमा अनुदान नदिएका कारण प्रभावकारी रुपमा सरकारी पाठ्यक्रम अनुरुप मदरसा शिक्षा संचालन गर्न नसकिएको उनले बताए ।
गोरखा नगरपालिका–२ का वडा अध्यक्ष तथा गोरखा नगरपालिकाको शिक्षा प्रमुख रहमतुल्ला मियाँले नेपाल सरकारको पाठ्यक्रम अनुसारका बिषयहरु पठनपाठन नभएका कारण मदरसाको पढाइले सरकारी मान्यता नपाएको बताए । सामुदायिक विद्यालयमा धार्मिक विषयलाई ऐच्छिक रुपमा राखेर पठनपाठन गराउन सके सहज हुने बताउँदै उनले त्यसतर्फ कसैको ध्यान नपुगेको जानकारी दिए । आफु शिक्षक हुँदा पनि पटक पटक प्रयास गरेको तर सफल नभएको उनले बताए ।
धार्मिक विषय पढाइ हुने गोरक्षनाथ वैद्धिक गुरुकुलले भने संस्कृतसँगै नेपाल सरकारले निर्दिष्ट गरेको पाठ्यक्रम अनुसारको अंगे्रजी, गणित, सामाजिक लगायतका विषयहरु पठनपाठन गराउँदै आएको छ । जसका कारण सामुदायिक विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्यता विद्यार्थीमा नभएको विद्यालयका प्रध्यानाध्यापक इश्वरप्रसाद उपाध्यायले बताए ।
उक्त विद्यालयले कक्षा ६ सम्म संचालन गरेको छ । हाल १९ जना विद्यार्थी आवासीय सुविधासहित उक्त विद्यालयमा अध्ययनरत छन् । गुरुकूलमा पढेका विद्यार्थी साधारण विद्यालयमा समान मान्यताका साथ पढ्न जान पाउने व्यवस्था रहेको उपाध्यायले बताए ।
गुरुकूलको पढाइले साधारण विद्यालय सरह मान्यता पाए पनि यसबर्ष गुरुकूलमा रहेका बटुकहरुको संख्या कटौती गर्नुपरेको गुनासो उपाध्यायले गरे । ‘हाम्रो गुरुकूलमा ३१ जना बटुकहरु थिए । बिगत बर्षहरुमा नगरपालिका र वडाले गरेर सात लाख रुपैयाँ अनुदान दिन्थ्यो । त्यसले ३२ जनालाई यहाँ राखेर पढाउन सकिएको थियो, तर यसबर्ष नगरपालिकाले अनुदान घटाएको छ’, उनले भने, ‘अनुदान कटौती भएपछि १४ जनालाई पोखरा पठाउन बाध्य भयौँ । अहिले यहाँ जम्मा १९ जना मात्र छन् ।’
नेपाल सरकारको पाठ्यक्रमअनुसार विषयवस्तु पठनपाठनमा विद्यालयले चासो नदिँदा मदरसाको पढाइलाई सरकारी सरह मान्यता दिन नसकिएको गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास चन्द्र आचार्यले नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले मदरसा संचालन गर्नका लागि छुट्टै पाठ्यक्रम निर्माण गरेको बताए ।
धार्मिक विषयलाई ऐच्छिक रुपमा संचालन गर्नका लागि पर्याप्त समय नपुग्ने र धेरै कुरा सिकाउन नसकिने भएकाले सरकारले नै नेपाली पाठ्यक्रम सहित मदरसा संचालन गर्नका लागि छुटै पाठयक्रम बनाएको उनको भनाइ छ । गोरखाका विद्यालयहरुमा गैरमुस्लिमहरु पनि हुने भएकाले ऐच्छिक रुपमा मुस्लिम भाषामा मात्र पढाउन कठिनाइ हुने उनको भनाइ छ ।
मदरसाले सरकारी नियमको पालन गर्न नखोज्ने र सरकारले पनि नियमनमा चासो नदिएका कारण धार्मिक बिद्यालय पढ्ने विद्यार्थीहरुलाई दुवै शैक्षिक संस्थामा एक साथ पढ्नुपर्ने बाध्यता रहेको उनले बताए ।




