| बुधबार, कार्तिक २५, २०८३

पानी उपलब्ध गराउन दरौदी खानेपानीसँग उपभोक्ताको माग

दरौदी लिफ्टिङ खानेपानी आयोजनाको संस्थागत उपभोक्ता रहेका खानेपानी संस्थाहरुले बैज्ञानिक मूल्य निर्धारण गरी पानी उपलब्ध गराउन सो आयोजनासँग माग गरेका छन् ।

पानी उपलब्ध गराउन नसके संस्थाहरुले बुझाएको रकमको क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । पानी उपलब्ध गराइदिने वातावरण बनाइदिन माग गर्दै आइतवार उनीहरुले गोरखा नगरपालिकाका मेयर कृष्ण रानालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

‘राज्यले करोडौँ लगानी गरेर निर्माण गरेको आयोजना वेवारिसे बनाएर उपभोक्ताहरुलाई पानी उपलब्ध गराउन नसक्ने अनि पानी लिएनन् भन्दै सम्बन्धित निकायमा भ्रम छर्ने उक्त समितिलाई तत्काल अनुसन्धान गरी तथ्यमा आधारित यथार्थ सार्वजनिक गर्नुपर्छ’, ज्ञापन पत्रमा उल्लेख छ ।

आयोजनाको वर्तमान समिति तत्काल खारेज गरी बिधानसम्मत साधारण सभा गर्न र आयोजनाको नीति र बिधान अनुरुप २१ वटा उपभोक्ता संस्थाहरुबाट अधिवेशन सम्पन्न गरी दरौदी खानेपानी कार्यसमिति निर्माण गर्न उनीहरुले माग गरेका छन् ।

उपभोक्ता संस्थाहरुबाट लिइएको रकमको पारदर्शिता सहित सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ । आयोजनाको बिस्तृत अध्ययन गरी आयोजनाको शुद्धता मापन गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ । माग पूरा नभए कठोर कदम चाल्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

ज्ञापन पत्रमा दरौदी आयोजनाका उपभोक्ता रहेको जिल्ला सदरमुकाम आसपासका २१ वटा खानेपानी संस्थाहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्