
गोरखाबाट अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थितकार्यालयमा गोरखा जिल्लाका स्थानीय तहका उजुरी बढ्न थालेका छन् । कार्य संचालन प्रति गुनासो गर्दै उजुरी दर्ता हुने क्रम बढेको आयोगले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी जीवनचन्द्र राइका अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाबाट संघ, प्रदेश र स्थानीय तह गरी कुल ९१ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै स्थानीय तहको कार्य संचालन प्रति गुनासो गर्दै ४३ वटा उजुरी दर्ता भएको उनले जानकारी दिए ।
दर्ता भएकामध्ये ३५ वटा उजुरी फस्र्यौट भएको र ८ वटा उजुरी फर्छौट हुन बाँकी रहेको उनले जानकारी दिए ।
त्यस्तै प्रदेश सरकारबाट जिल्लामा संचालित विभिन्न आयोजनाप्रति गुनासो गर्दै गोरखाबाट अख्तियारमा ३३ वटा उजुरी दर्ता भएका छन् ।तीमध्ये १७ वटा उजुरी फस्र्यौट भएको र १६ वटा फस्र्यौट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार संघ सरकारबाट जिल्लामा संचालित योजनाप्रति गुनासो गर्दै गत वर्ष १५ वटा उजुरी दर्ता भएका छन् । तिमध्ये ९ वटा उजुरी फस्र्याैट भएको र ६ वटा बाँकी रहेको बताइएको छ । पछिल्लो समय स्थानीय तहमा विकास योजना लगायतका क्षेत्रमा आर्थिक अनियमितता हुने क्रम बढेको भन्दै गुनासो समेत आउने गरेको छ ।




