
मोवाइलमा एसएमएस प्राप्त भएपछि परिचय पत्र लिन आउन प्रशासनको आग्रह
केहीदिनअघि गृहमन्त्रीले गोरखामा राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेपछि ‘मेरो राष्ट्रिय परिचयपत्र आयो ?’ भनेर धेरैले चासो राख्न थालेका छन् ।
फोनमा सोध्ने र सोध्नकै लागि कार्यालयमा धाएर आउनेको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी मोबाइलमा मेसेज आएपछि मात्र परिचय पत्र लिन आउन आव्हान गरेको छ ।
सोमवार सार्वजनिक सूचना जारी गर्दै एसएमएस प्राप्त भएपछि कार्यालय समयभित्र प्रशासन कार्यालयमा आफ्नो परिचय पत्र लिन आउन आग्रह गरेको हो । साथमा आवेदन रुजु भर्पाइ पनि लिएर आउन भनिएको छ । आवेदक स्वयम उपस्थित भई कार्यालयको झ्याल नं. १०८ बाट आफ्नो राष्ट्रिय परिचयपत्र लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।
गोरखामा गत साउन ३ गतेबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु भएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीनबर्षअघि बायोमेट्रिक फारम भरेका जिल्लाका चार जनालाई परिचय पत्र वितरण गर्दै सो कार्यको शुभारम्भ गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय गोरखामा पहिलो चरणमा २४५३ थान परिचय पत्र प्राप्त भएको कार्यालयले जनाएको छ ।
कार्यालयभित्र र विभिन्न पालिकामा भएको अभियानमा हालसम्म १ लाख ५९ हजार ६८९ जनाले बायोमेट्रिक फारम भरिसकेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । उनीहरुमध्ये जिल्ला प्रशासन कार्यालयमा ४२ हजार ४३८ जनाले र विभिन्न पालिकामा सञ्चालन गरिएको अभियानमार्फत १ लाख १५ हजार ९ सय ८७ जनाले फाराम भरेका हुन् । चालु आवको साउन महिनाको १५ गते सोमबारसम्म ७ सय ६४ जनाले फाराम भरेको कार्यालयले जनाएको छ ।




