| आइतवार, अशोज १७, २०८३

बुंकोटको रामेश्वरी माविको चार कोठे भवन बन्ने

शहिद लखन गाउपालिका–८ बुंकोटमा रहेको रामेश्वरी माध्यमिक विद्यालयको चार कोठे भवन बन्ने भएको छ ।

जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले निर्माण गर्न लागेको उक्त भवनको शुक्रवार एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर र चाइल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक आयरी होण्डाले संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थापाले भवन निर्माण लगायत चार वटा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि परियोजनाबाट संचालन हुने गतिविधिहरुमा गाउँपालिकाले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

विद्यालयको चार कोठे भवन निर्माणसँगै खानेपानीको संरचना निर्माण, कक्षाकोठामा फर्निचरको व्यवस्थापन लगायतका काम हुने एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए । सँगै पालिका भित्रका तीन वटा विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको क्षमता विकास तथा विद्यालयहरुमा विपद् जोखिम न्यूनिकरण सम्बन्धी गतिविधिहरु समेत सञ्चालन हुने उनले जानकारी दिए ।

कार्यक्रममा परियोजनाको उदेश्य, अपेक्षित उपलब्धी, गतिविधि र बजेटको वारेमा एकिकरण नेपालका परियोजना संयोजक ईश्वर घिमिरेले जानकारी गराएका थिए ।

चाइल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक होण्डाले जापान सरकार र नेपाल सरकारबीच लामो समयदेखि घनिष्ठ सम्वन्ध रहेको जानकारी गराउदै नेपाली वालवालिकाहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग गर्नु जापान सरकारको पनि कर्तव्य भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुवास आचार्य, वडा नं ८ का अध्यक्ष बासुदेव ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्