
घरभित्रको मूलको पानीले गजब जिन्दगानी
सदरमुकामको बोसेपानी धाराकै आडमा घर भएका उनी ‘पानी काइँला’ भनेर चिनिन्छन् । खानेपानीको धारानेर घर भएर होइन, पानी बेचेर उनले यो नाम कमाएका हुन् ।
नागरिकतामा लेखेर बनाएको श्यामबहादुर श्रेष्ठको भन्दा २५ बर्षदेखि पानी बेचेर बनाएको यो परिचयले समाजमा जरो गाडेको छ ।
खानेपानीको मूल घरभित्रै भएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् । आफूलाई भाग्यमानी बनाइदिने एक इञ्जिनियरको गुन पनि उनी सम्झन्छन् । ‘खानेपानी कार्यालयमा एक जना इञ्जिनियर थिए, कृष्णभक्त महर्जन । उनी यहीँ डेरा गरेर बस्थे । उनले हो मेरो भाग्य चम्काइदिएको’, पानी काइँला भन्छन्, ‘यो पानीलाई यहाँ यसरी ट्याङ्की बनाएर बेच्नुपर्छ भनेर सिकाइदिएका उनैले हो ।’ उनैको सुझाव अनुसार आफूले घरभित्र आठफिट गहिरो ट्याङ्की बनाएको उनले बताए ।
हरमटारी र धनुबाँसे क्षेत्रमा बाक्लो बस्ती बस्न थालेपछि उनको पानीको महत्व बढेको हो । मूलको पानीलाई घरभित्र आठ फिट गहिरो ट्याङ्की बनाएर उनी संकलन गर्छन् । ‘गोरखा बजारमा पानीको हाहाकार भएका बेला पनि मेरो घरभित्र घट्टा चलाउन पुग्ने पानी छ’, उनी भन्छन्, ‘पानी बेच्न मलाई केही गाह्रो छैन । लौन पानी जोडिदिनुप¥यो भन्दै मान्छेहरु हात जोड्दै आउँछन् ।’ अहिले गोरखा बजारका २५ जनाभन्दा धेरै घरलाई मूलको पानी बेच्ने गरेको उनको भनाइ छ ।
‘ठ्याक्कै कतिजनाले जोडेका छन् भन्न जान्दिन तर कम्तिमा पनि २५ जना भन्दा धेरै छन्’, उनी भन्छन्, ‘छ न त बजारमा साना सहरीको पानी पनि छ, दरौँदीको पानी पनि ल्याएका छन्, तर त्यो पानी खाँदैनन् । हाम्रो त मूलको चिसो खानेपानी हो । सिधै खान मिल्ने ।’ उनको आँगनमा पानी किन्नेहरुको पाइपको झुत्तो छ । प्रत्येक पाइपमा एकेक घण्टा पानी जोडिदिन्छन् । प्रत्येकसंग महिनाको एक हजार रुपैयाँ लिन्छन् ।
‘मेरो अरु कमाइ केही छैन । अरुहरु घडेरी बेच्नतिर लागे । मैले त्यस्तो केही गरिन । यही हो मेरो कमाइ’, उनी भन्छन्, ‘यसैले घरबार चलेको छ । तीन भाइ छोरा यही पानीले पढाएँ । अहिले सात जनाको परिबार पनि यसैले पालिरहेको छु ।’ पानी बेचेर कमाएको सामान्य कमाइमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।




