| बुधबार, कार्तिक २५, २०८३

बारपाकका तेलबहादुर माइतीघर मण्डलामा दुई महिनादेखि धर्नामा

गोरखा बारपाक–२ का तेलबहादुर घले माइतीघरमा धर्ना बसेको दुई महिना भयो । माइतीघरमा आन्दोलन तथा धर्ना गर्नेमा अहिले उनी सबैभन्दा पुराना हुन् । उनीसँगै र पछि आन्दोलन थालेका धेरै माइतीघरबाट बिदा भएर हिँडिसके । धेरै नयाँ थपिएका पनि छन् । उनी एक्लै धर्नामा छन् । त्यसकारण उनको उपस्थिति हत्पति देखिँदैन । तर, मङ्गलवार भने उनी आफ्नो नियमित आन्दोलन गरिरहको ठाउँमा नभएर ठीक त्यसको अगाडि सडक पेटीमा राखिएको बेञ्चमा बसेर लघुवित्तको दमनविरुद्धमा भइरहेको आन्दोलन हेरिरहेका थिए ।

‘दुई महिना भइसक्यो धर्नामा बसेको । न कसैले केही सम्पर्क गर्छ, न कोही कुरा गर्न आएको छ । यो झरी, बर्खामा रुझेर, भिजेर कति बसिरहने हो थाहा छैन,’ घले भन्छन्, ‘हामी यहाँ रहरले बस्न आएको होइनौँ । हाम्रो माग चाँडै सुनुवाइ भए किन यहाँ बसिन्थ्यो र यो धुलो, धुवाँ खाएर । मान्छे धेरै भएपछि फोहर पनि हुन्छ ।’

मनास्लु हिमाल जाने बाटोको धार्चे गाउँपालिकामा होटल सञ्चालन गर्ने घलेको होटल आरुघाट लार्के भञ्ज्याङ जोड्ने सडक सेनाले बनाउँदा विस्फोट गर्दा क्षति पुग्यो । २०७५ साल असोज १४ गते विस्फोट गर्दा होटलमा क्षति पुगेपछि क्षतिपूर्ति दिने कुरा पनि भएको थियो । सेनाले १३ लाख ८२ हजार रुपैयाँ क्षतिपूर्ति दिने कुरा गर्यो । तर, आफ्नो ४५ लाख रुपैयाँ खर्च भएकोमा यति पैसाले काम छैन भनेर उनले अस्वीकार गरे । तर पनि सेनाले जर्बजस्ती १३ लाख रुपैयाँ लिन लगाएको घले बताउँछन् ।

उनी भन्छन्, ‘मेरो खर्च भएको सबै रकम त के दिन्थे र तर, ४५ लाखमध्ये १३ लाख लिइसकेको हुनाले अब बाँकी ३१ लख रुपैयाँ पाउनुपर्यो भन्ने हो ।’

यही माग लिएर उनले माइतीघरमा धर्ना थालेका हुन् । सिंहदरबारको सामुन्नेमा रहेको माइतीघरमा अरु खालका धर्ना पनि भैरहन्छन् । अहिले माइतीघरमा लघुवित्तकोविरुद्धमा धर्नामा बस्नेहरुको संख्या धेरै छ । झण्डै तीन÷चार सय जना आन्दोलनमा छन् । उनीहरुको संख्या धेरै भएपछि अहिले माइतीघरमा भिडभाड पनि बढेको छ । यसअघि सहकारी विरुद्धको आन्दोलनमा अलि भिड थियो । तर, अहिले त्योभन्दा पनि भिड छ । लघुवित्तविरुद्धको आन्दोलनमा आएकाहरु त्यहीँ सडकमै भात खान्छन् । आफ्ना घरजग्गा लघुवित्तको बन्धकीमा परेपछि उनीहरु आन्दोलनका लागि माइतीघर आएका हुन् । खाने, बस्ने, सुत्ने ठेगान नभएपछि उनीहरुको आश्रयस्थल बनेको छ सडक ।

लघुवित्तविरुद्धको आन्दोलनमा कैलालीको मोहन्याल गाउँपालिका–७ बाट आउनुभएको छ बबिता चौधरी । चौधरीका अनुसार उनीहरुले पालिका तथा अन्य निकायमा पनि लघुवित्तकाविरुद्ध आवाज उठाएका हुन् र । तर, कहीँ पनि सुनुवाइ भएन । त्यहाँबाट अब आन्दोलन गर्न काठमाण्डौ गएपछि मात्रै समस्या समाधान हुन्छ भनेकोले उनीहरु माइतीघर आएका हुन् ।
अहिले माइतीघरमा सहकारीपीडितहरु आमरण अनशनमा छन् । त्यस्तै, लघुवित्त पीडितहरु पनि आमरण अनशनमा छन् । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोपमा पक्राउ गर्नुपर्ने माग गर्दै एक जना पीडित महिला पनि आमरण अनशनमा छन् ।

माइतीघरमा यति धेरै थरी प्रदर्शनकारीले आन्दोलन गरिरहँदा सडक जाम हुने गरेको छ । मानिसहरुका आवतजावत र भिडभाडले केही फोहर पनि थपिएको छ । लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले आफ्नो आवाज राख्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । त्यो ठाउँ अहिले माइतीघरले दिएको छ । नागरिकले आफ्ना जायज मागहरु राख्दा त्यसको समयमै सम्बोधन सरकारले गर्ने हो भने माइतीघरमा यस्तो भिड पक्कै हुने थिएन ।

प्रतिक्रिया दिनुहोस्