| बुधबार, कार्तिक २५, २०८३

क्वार्ज क्रिष्टल ढुंगाबारे फरक फरक धारणा, गोरखाबाहिर लान नहुने अधिकांशको भनाइ

प्रहरीले बरामद गरेको ५४ किलोको क्वार्ज क्रिष्टल ढुंगा अहिले चर्चाको बिषय बनेको छ । गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट प्रहरीले बरामद गरेको उक्त ढुंगा हेर्न प्रहरी कार्यालय नपुग्ने बिरलै होलान् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका व्यक्तिले समेत उक्त ढुंगाको निरिक्षण गरिसकेका छन् । उक्त ढुंगाबारे बिभिन्न टिकाटिप्पणीहरु सामाजिक सञ्जालमा छरपष्ट छन् ।

ऐतिहासिक र धार्मिक महत्वसँग जोडिएको भन्दै अधिकांशले उक्त ढुंगा जिल्लामै राख्नुपर्ने माग गरिरहेका छन् । गोरखा दरवार परिसर वा संग्रहालयमा राख्नुपर्ने आवाज पनि उठेको छ । नक्कली ढुंगा बनाएर सक्कली गायव हुने हो की भन्ने चिन्ता पनि धेरैको छ ।

जिल्ला प्रहरी कार्यालयले पहिले खानी तथा भू–गर्भ बिभागमा ढुंगा परिक्षण गर्नुपर्ने बताउँदै आएको छ । आर्थिक स्रोत नभएका कारण परिक्षणका लागी लान नसकिएको एसपी अनुपम श्रेष्ठको भनाइ छ । सोही ढुंगाको बिषयमा हामीले जिल्लाका सरोकारवालाहरुको धारणा संकलनल गरेका थियौ । दरौदी दैनिक पत्रिकाका संवाददाता केशव गुरुङले गरेको कुराकानीमा आधारित अशं :

गोरखा दरबारका पुजारी प्रदिप योगी

यसमा व्यक्तिको धारणाले केहि हुदैन । यसको संरक्षण, सुरक्षा गर्ने जिम्मेवारी निकाय राज्य हो । यो कहाँ राख्दा उपयुक्त हुन्छ, त्यसको महत्व हुन्छ भन्ने कुरा व्यक्तिले भन्नु भन्दा पनि राज्यले निर्णय गर्नुपर्छ र यसलाई समाजले चिन्ने पहिचान दिनुपर्छ । यो सबै कुरा राज्यले गर्ने हो ।

गोरखा संग्रहालय प्रमुम नवराज अधिकारी

यसको बारेमा पुर्ण रुपमा मलाई जानकारी छैन । यो गोरखाको इतिहास, संस्कृतिसँग सम्बन्धित विषय हो भने त्यो हाम्रो कार्यक्षेत्र भित्र पर्छ । गोरखाको इतिहास र संस्कृतिसँग यसको कुनै सम्बन्ध छैन भने यो हाम्रो विषयवस्तु भित्र पर्दैन । खानी तथा भू–गर्भ विभागसँग यसको सम्बन्ध देखियो । विभागबाट विज्ञहरुसँग परामर्श गरेर उहाँहरुको सुझाव अनुसार अघि बढ्नु उपयुक्त हुन्छ ।

गोरखा दरबार हेरचाह अड्डा प्रमुख हरि भुषाल

गोरखा दरबार परिसरमा ल्याएर राख्ने सम्बन्धमा गोरखा दरबारसँग त्यो शिलाको सम्बन्ध जोडिएको हुनुप¥यो । दरबार र म्यूजियमको पनि कस्ता कस्ता बस्तु संकलन गर्ने, कस्ता वस्तु प्रदर्शन गर्ने भन्ने थिमहरु हुन्छ । त्यो शिलासँग गोरखा दरबारको सम्बन्ध यदि प्रमाणित रुपमा त्यसको आधारमा भेटियो भने विभागसँग समन्वय गरेर हामीले त्यसलाई राख्न कुनै आपत्ति भएन । तर यसमा इतिहास तथ्यका आधारमा प्रमाणित हुनुप¥यो ।

खोज अनुसन्धान हुनुप¥यो र प्रमाणित हुनुप¥यो । यहाँको गोरखा दरबारको परम्परागत धर्म, संस्कृति, इतिहाससँग त्यसको सम्बन्ध छ या छैन, त्यसको स्पष्ट किटान भएमा मात्र थप विषयमा के गर्ने भन्ने निर्णय गर्न सकिन्छ । अनि पुरातत्व विभाग र मन्त्रालयसँग समन्वय गरी त्यहाँबाट जे निर्देशन हुन्छ सोहि अनुसार मात्र गर्ने हो ।

शाहवंशिय राजाहरु अथवा वृहत नेपाल निर्माणको सम्बन्धमा त्यसको सम्बन्ध के हो ? यहाँको कालिका र गोरखनाथसँगको त्यो शिलाको सम्बन्ध के हो ? गोरखा दरबारको कर्मचारी हुन् भने तिनीहरुसँगको त्यो शिलाको सम्बन्ध के हो ? यी सबै कुरा यकिन साथ प्रमाणित रुपमा पुष्टि भइसकेपछि थप अगाडि मार्ग प्रसस्त होला ।

गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ

राज्यको नियममा के छ ? यदि यो उसको पुख्र्याैली सम्पती हो भने उसले नै फिर्ता पाउनुपर्छं । त्यो एकदम बहुमुल्य चीज हो र यदि फिर्ता गर्न नमिल्ने भएमा त्यसलाइ घरमा राख्न पनि गाह्रो पर्ला, ढुंगााको उचित मूल्य दिएर यसलाई गोरखा संग्रहालय तथा गोरखा दरबारमा सबैले देख्ने ठाउँमा सुरक्षित तरिकाले राख्नुपर्छ । यदि त्यो ढुंगामा दैविक शक्ति छ भने त्यो ढुंगाका कारण पनि आन्तरिक तथा बाहय पर्यटक भित्रिन सक्छ । केहि कुरा दरबारसँग जोडिएर पनि आएको छ त्यो अनुसन्धानले देखाउला, तर त्यो दैविक शक्ति हो भने त्यसलाई बाहिर लानु हुदैन ।

चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ

यसलाई पुरातात्विक बस्तुसँग जोडेर गोरखा संग्रहालयमा राख्दा उपयुक्त हुन्छ । यो ढुंगालाई जिल्ला बाहिर लैजानु दिनु हुदैन । यसलाई गोरखा संग्रहालयमा सशुल्क हेर्न मिल्ने गरी राख्नुपर्छ ।

ओमन चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष ज्ञानु अधिकारी

यो ढुंगा अनुसन्धानका लागि बाहिर पठाउने भन्ने कुरा पनि आएको छ । अनुसन्धानका लागि बाहिर पठाउँदा के हुन्छ भन्न सकिन्न । अनुसन्धान गर्ने ठाउँमा यो पुग्छ कि पुग्दैन एउटा कुरा । अव अहिलेको परिस्थिति पनि त्यस्तै छ । पहिलो सुन भन्ने पछि नकक्ली हुने रहेछ भने झै यो पनि बीचमा साटफेर हुन्छ कि भन्ने हो । त्यसैले गोरखा बाहिर नलगोस नै भन्छु । यो गोरखाकै सम्पदा हो, अव उहाँहरु (घरधनी) कै घरमा राख्दा उहाँहरुलाई नी रिस्क होला जस्तो लाग्छ । बरु उहाँहरुले पुजा गर्न पाउने सुविधा सहित शान्ति सुरक्षाको कडाइका साथ गोरखा संग्रहालयमै राख्दा ठिक होला जस्तो लाग्छ ।

महिला उद्यमी संघ गोरखा अध्यक्ष रिता रेग्मी

यो क्वार्ज क्रिष्टल ढुंगा भनेपछि राज्यकै सम्पतिको रुपमा मान्ने चलन छ । उहाँहरुले पुर्खौ देखि पुज्दै आउनुभएको छ । भोलिका दिनमा त्यसलाई सुरक्षित गरेर परिवार भित्र नै नरहेको अवस्थामा त राज्यले नै लिदा नै उचित हुन्छ कि भन्ने लाग्छ । यो गोरखाकै सम्पति भएकाले गोरखाकै पहिचान बनाएर सुरक्षित गरेर धार्मिक आस्थाका रुपमा राख्यो भने अझ बढी राम्रो हुन्छ ।

जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ

जिल्ला प्रशासन कार्यालय, एसपी, गोरखा नगरपालिका मेयर सबै ठाउँ हामीले कुनै पनि हालतमा यो ढुंगालाई गोरखा दरबारमै सुरक्षित साथ राख्नुपर्छ भनेका छौ । यो भगवतीको स्याम्पल हो । रातीको अध्यारो कोठामा हुदाँ यसमा लाइट जुन देखा पर्छ, यो भगवतीकै उर्जागर हो । हाम्रो भनाइ के हो भने यो जाँच्ने काम पुरात्व विभागले गर्नसक्नु हुन्छ । तर यो ढुंगा कुनै पनि हालतले माथि दरबारमै सुरक्षित साथ राख्नुपर्छ । ढुंगाको सुरक्षा गर्ने दायित्व राज्यको हो ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) प्रमुख सन्तोष शेरचन

यो गोरखाको सम्पत्ति भएको हुनाले गोरखा दरबारमा नै अवलोकनका लागि राख्दा राम्रो हुन्छ भन्ने लाग्छ । जिल्लाका जनप्रतिनिधिहरु, जिल्लाका सुरक्षा समिति सबै बसेर गोरखामै राख्यो भने त्यो हेर्नका लागि पर्यटकहरु गोरखामा आउछन् । गोरखा ऐतिहासिक ठाउँ भएर पनि गोरखा प्रति जुन आकर्षण हुनुपर्ने हो त्यो भएको मैले देखिन । मनास्लु जाने पर्यटकहरु गोरखा आएको एउटा पनि देखिएन । त्यसैले गोरखा आफैमा ऐतिहासिक जिल्ला भएकाले त्यो ढुंगा गोरखा दरबार या संग्रहालयमा राखिनुपर्छ । जसले गर्दा यहाँको पर्यटकमा वृद्धि हुन्छ ।

ऐतिहासिक क्षेत्र संरक्षण विकास समिति अध्यक्ष सुरेशमान श्रेष्ठ

यो गोरखाको अति ठूलो सम्पदा हो । यसलाई गोरखा संग्रहालयमा राख्नुपर्छ । त्यसलाई फ्रेममा सुरक्षित तरिकाले राख्दा व्यवस्थित हुन्छ । तान्त्रिक पुजाआजा गर्न माथि दरबारमा राखेपनि हुन्छ तर सुरक्षित र व्यवस्थित हिसाबले गोरखा संग्रहालयमा राख्नुपर्छ । यसले गोरखाको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पु¥याउछ ।

पालुङटार नगरपालिकाका स्थानीय बेद बहादुर राना

यो बहुमूल्य ढुंगा गोरखा संग्रहालयमा राख्नुपर्छ । जसले गर्दा गोरखाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने छ । त्यसो गर्दा सामान सुरक्षित हुन्छ । जनताले दुर्लभ बस्तु अवलोकन गर्न पाउने हक प्राप्त हुनेछ । आस्थाका हिसाबले मठमन्दिरमा राख्दा राम्रो देखिए पनि विविध कारणले उपयुक्त देखिदैन ।

त्यसैले सम्बन्धित व्यक्तिको परिवार वंशको फोटो नामावली सौजन्य प्रष्ट खुलाई संम्बन्धित स्थानमा राख्नुपर्छ । यसो गर्दा उनीहरुको पनि चित्त बुझ्ने बाटो हुन्छ । यदि नेपालको कानुनले सम्बन्धित व्यक्तिलाई राख्न पाउने छ भनेमा उसलाई जिम्मा दिनुपर्छ तर सुरक्षाको हिसाबले व्यक्ति र बस्तु दुवैलाइ उपयुक्त होइन ।

यो पनि पढनुहोस् :

प्रतिक्रिया दिनुहोस्