
वर्तमान अवस्थामा नेपालको सुशासन र संमृद्धि विषयमा अन्तरक्रिया
गोरखा सदरमुकाममा वर्तमान अवस्थामा नेपालको सुशासन र समृद्धि विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल वुद्धिजीवी संगठन जिल्ला समन्वय समिति गोरखाको आयोजनामा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममामा प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण सहितका सुशासन स्थापना गर्नमा सरकार लागि परेको बताए । देश कमिशन, भ्रष्टचारको जालझेलमा बेरिएका कारण लोकतन्त्रले राम्रोसँग काम गर्न नसकेका र जनतालाई राम्रोसँग सेवासुविधा दिन नसकिएको बताए ।
सोही कारण देशका उर्जाशील लाखौँ युवाहरु विदेशिएको उनले बताए । नेपाल अति सम्भावनायुक्त देश भएको बताउदै अहिलेको सरकार जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी सामाजिक न्याय सहितको समृद्धि प्राप्त गर्न निरन्तर लागि परेको उनले बताए । सरकारले संचालन गरेको सुशासन अभियानमा यस प्रकारको अन्तरक्रिया कार्यक्रमले धेरे सहयोग पुग्ने उनको भनाइछ ।
कार्यक्रममा बुद्धिजीवी संगठन गोरखाका निवर्तमान अध्यक्ष यादव शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा मावन अधिकार सन्जाल गोरखाका अध्यक्ष यदुप्रसाद अधिकारी, नेपाल वृद्धिजीवी संगठन केन्द्रिय सहसंयोजक निलकण्ठ तिवारी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य अशोकभक्त उपाध्यायले टिप्पणी गरेका थिए ।
बुद्धिजीवी विभागका प्रमुख धु्रव भट्टले टिप्पणीको निष्कर्ष सार्वजनिक गरेका थिए । उनीहरुले समृद्ध नेपाल निर्माणका लागि राज्यको महत्वपुर्ण तहमा रहेका नेतृत्वहरुमा दिर्घकालिन सोच लिएर अघि बढनुपर्ने, संविधानका व्यवस्था गरिएको हकअधिकार र उपलब्धीहरु जनतामाझ देखाउन सक्नुपर्ने, भ्रष्टचार न्यूनीकरणका लागि स्वघोषित आन्दोलन सुरु गर्नुपर्ने र सरकारले जनताको आशा र भरोसा नटुटने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।
संगठनका जिल्ला समन्वय समितिका संयोजक बासुबाबु खत्रीको अध्यक्षता तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका पदाधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, सुरक्षा निकाय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।




