
गोरखामा मंगलबारबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने
गोरखामा मंगलबारबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु हुने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो कार्यक्रमको सुभारम्भ गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि सो कार्यालयले बहुउपयोगी मानिने राष्ट्रिय परिचयपत्रको फाराम २०७७ सालदेखि भर्दै आएको थियो ।
नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरिकलाई बहुउपयोगी राष्टिूय परिचयपत्र उपलब्ध गराउने अवधारणा ल्याइएको हो । राष्ट्रिय परिचय पत्रलाई अन्तर्राटिूय मापदण्डको डिजिटल कार्ड भन्दा हुन्छ । राष्ट्रिय परिचय पत्रमा हातको दश औंठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेटिने छ ।
एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झञ्झट हुँदैन । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ ।
कुुनैपनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचय पत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
एकजना व्यक्तिलाई उपलब्ध गराएको राष्ट्रिय परिचय पत्र नम्बर कहिल्यै दोहोरिँदैन । परिचय पत्रको विवरण अनलाइनमा व्यवस्थित गरिए पश्चात बाल बालिकाको जन्म दर्तामा दिइएको नम्वर नै उस्को स्थायी परिचय पत्र नम्वर हुन्छ । र उसले प्राप्त गर्ने सबैखाले सुबिधा सोहि नम्बरमा समाबेश हुन्छन् ।
राष्ट्रिय परिचय पत्रको विवरण जो कोहिले पढ्न सक्दैन त्यहाँ समेटिएको विवरण हेर्न छुट्टै रिडर मेसिनको व्यवस्था गरिएको हुन्छ । नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखलाई नीति तथा योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र, मतदाता परिचयपत्रको रूपमा काम गर्नेछ भने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । हाल राहदानीमा मात्र परिचय पत्र लागु गरिएको छ ।
आगामि दिनमा नागरिकता, सवारी चालक अनुमतिपत्र, मतदाता नामावली, सामाजिक सुरक्षा, बैक तथा वित्तीय संस्थाको कारोबार, स्वास्थ्य सेवा, राजस्व संकलन, व्यक्तिगत घटना दर्ता र अपराध अनुसन्धान लगायतका क्षेत्रमा समेत राष्ट्रिय परिचय पत्र लागु हुने विभागले जनाएको छ ।




