| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिकाद्वारा खानेपानी तथा सरसफाइ ऐन लागु, नगरभित्रको खानेपानी व्यवस्थित गर्न बोर्ड गठन

गोरखा नगरपालिकाभित्र खानेपानी तथा सरसफाइलाई व्यवस्थित गर्न खानेपानी तथा सरसफाइ ऐन २०८० लागु भएको छ । गत असार १० गते सम्पन्न बाह्रौँ नगरसभाबाट स्वीकृत भएको सो ऐन राजपत्रमा प्रकाशित भएपछि शनिबारबाट सक्रिय भएको हो ।

नगरबासीलाई खानेपानी तथा सरसफाइ उपलब्ध गराउने दायित्व तथा जिम्मेवारी वहन गर्न ऐन लागु गरिएको हो । खानेपानीका श्रोतको संरक्षण र उपयोग गर्ने, नगरपालिकास्तरमा आधारभूत खानेपानी तथा सरसफाइ सेवाको व्यवस्थापन, सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि, फोहरपानी तथा फोहरमैला व्यवस्थापन प्रणालीको सञ्चालन गर्ने उद्देश्यले ऐन ल्याइएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकाले तोकेको क्षेत्रमा लक्षित जनसंख्यालाई खानेपानी र सरसफाइ सेवा पुरयाउने आयोजना सञ्चालन र व्यवस्थापन गर्ने, नगरपालिकाबाट सञ्चालित र व्यवस्थित खानेपानी तथा सरसफाइ आयोजना निर्माण तथा व्यवस्थापन तथा नगरपालिकालाई हस्तान्तरण भएका खानेपानी तथा सरसफाइ आयोजनाको मर्मत सम्भार र पुनः स्थापनाका कार्य गर्न ऐन लागु गरिएको नगरपालिकाले जनाएको छ ।

अब खानेपानी सेवा, सरसफाइ सेवा तथा त्यस्ता विषयको आयोजनाको अनुमतिपत्र प्रदान गर्ने, सञ्चालन गर्ने तथा व्यवस्थापन गर्ने र नियमन गर्ने जिम्मेवारी तथा दायित्व नगरपालिकाको हुनेछ । त्यस्तै अबदेखि नगरपालिकाभित्रका उपभोक्ताका आधारभूत खानेपानी तथा सरसफाइ सेवाको समग्र व्यवस्थापन तथा सञ्चालन नगरपालिका आफैले वा आफ्नो स्वामित्व वा नियन्त्रणमा रहेको संस्था मार्फत गर्ने भएकोछ ।

बोर्ड गठन भएपछि संगठित संस्था बोर्ड मातहत रहने छन् । सो ऐन लागु हुनुअघि प्रचलित कानून बमोजिम दर्ता भई खानेपानीको संरक्षण, संवद्र्धन र खानेपानी तथा सरसफाइ सेवा सञ्चालन गरिरहेका सामुदायिक संस्था वा उपभोक्ता समूह यो ऐन प्रारम्भ भएको मितिदेखि नगरपालिकाको मातहत रहनेछन । त्यस्तै उपभोक्ता समिति वा संस्थाले २०८० भदौ २० गतेभित्र नगरपालिकामा सूचिकृत भईसक्नु पर्ने भएको छ ।

नगरपालिका क्षेत्रभित्र सेवा सञ्चालन तथा व्यवस्थापन गर्न वा नगरपालिका क्षेत्रभित्र संचालित खानेपानी आयोजना, उपभोक्ता समिति एवं संस्थालाई नियमन तथा व्यवस्थापन गर्न र यस ऐनले तोकेका कार्यसम्पादन गर्नका लागि नगरपालिका अन्तर्गत खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन गर्नेछ ।

नगर प्रमुखको अध्यक्षतामा गठित खानेपानी बोर्डमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरकार्यपालिकाले तोकेका ३ जना वडाअध्यक्ष, खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य गरेको व्यक्ति, जग्गा दाता, उपभोक्ताहरु मध्येबाट नगर प्रमुखले मनोनित गरेको एकजना महिला सहित २ जना सदस्य रहनेछन् ।

सो बोर्डले खानेपानी तथा सरसफाइ व्यवस्थापन सम्बन्धी आवश्यक नीति नगरपालिकाबाट स्वीकृत गराई कार्यान्वयन गर्ने, खानेपानीको महशुल निर्धारण गर्ने, खानेपानी सेवा प्रणालीलाई स्थानीय स्तरमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र आयोजना सुधार गर्ने गराउने काम बोर्डले गर्नेछ ।

त्यस्तै स्थानीय स्तरमा खानेपानी तथा सरसफाइका सम्बन्धमा सेवा विस्तार तथा आवश्यक सुधार कायक्रमकोलागि अध्ययन गरी विभिन्न दातृ निकायहरुमा योजना बनाई प्रस्ताव पेश गर्ने, नेपाल सरकार, गैरसरकारी, स्वदेशी तथा विदेशी संघ, संस्था एवं दातृ निकायहरुको ऋण, सहुलियत वा अनुदानबाट संचालन हुने आयोजनाहरुको निर्माण एवं नियमन गर्ने काम पनि बोर्डले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्