
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
मेलिना बराम :
गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । यसअघि धेरै पर्यटक आएको भनिएको २०७५ सालमा भन्दा यसबर्ष ५७ जनाले धेरै पर्यटक आएका मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।
एमक्यापले तयार गरेको तथ्यांकअनुसार यसबर्ष सातहजार सातसय १२ जना पर्यटक आएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा सातहजार ६५५ जना पर्यटक मनास्लु क्षेत्र भ्रमणका लागि आएका थिए ।
बिगत चारबर्षमा कोभिडका कारण पर्यटकको संख्या ज्यादै न्यून थियो । आर्थिक वर्ष २०७७÷०७८ मा सबैभन्दा कम अर्थात जम्मा एक सय ९४ जनामात्र पर्यटक सो क्षेत्रमा पुगेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।
कोरोना संक्रमणको दर केही हद सम्म कम भएपछि आर्थिक वष २०७८÷७९ मा भने फेरि पर्याटकको संख्या बढि देखिएको छ । त्यो वर्ष दुई हजार २८२ जनाले गोरखा भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेका शेरचनले जानकारी दिए । कोभिडजस्ता कुनै गम्भीर समस्या नभएमा यस क्षेत्रमा पर्यटकको संख्या बढ्दै जाने उनले बताए ।
एमक्याप आउने पर्यटकलाई सहजताका लागी विभिन्न पदमार्गको खोजी गर्ने, आवश्यक सूचनाहरु दिन सूचना केन्द्र निर्माण गर्नेे जस्ता पूर्वधारहरु बनाएको उनले बताए । यसले आगामि दिनमा मनासलु क्षेत्र आउने पर्यटकको संख्या बढ्ने अनुमान गरिएको उनको भनाइ छ । साथै एमक्यापलाई अभैे लोकप्रिय बनाउन स्थानीय तह, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, टानजस्ता सम्बन्धित निकायहरुले विभिन्न प्याकेजहरु ल्याउनु पर्नेमा उनले जोड दिए ।
सो क्षेत्र प्रबेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिब्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । पर्यटकले काठमाण्डौको भृकुटीमण्डप र पोखराको ड्यामसाईटस्थित काउन्टरमा प्रवेशदस्तुर बुझाउनु पर्ने व्यवस्था छ । यी दुबै ठाउँमा प्रबेश दस्तुर शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाउँ स्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्याप प्रमुख शेरचनले बताए ।
निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताका लागि अनुमति दिने गर्दछ । सो अबधिको भ्रमणका लागि पर्यटकले चुमभ्यालीका लागि सिजनमा प्रतिब्यक्ति ५० डलर र बेसिजनमा २५ र नुब्री भ्यालीका लागि प्रतिब्यक्ति सिजनमा ७० र बेसिजनमा ३५ डलर विभागमा बुझाउनुपर्नेछ ।
एकहप्ता बाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउन पर्नेछ । मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिकाको ७ वटा वडा पर्दछन् । साविकका सिर्दिबास, ल्हो, प्रोक, विही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये समागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रुपमा चिनिन्छ भने चुम्चेत र छेकम्पार गाविस चुम उपत्यकाका रुपमा चिनिन्छ ।
सो क्षेत्रमा बसोबास गर्ने तिब्बती(भोटे) समुदायको धार्मिक तथा सास्ंकृतिक अबस्था अध्ययन गर्न, प्राकृतिक दृश्याबलोकन, मनास्लु हिमाल आरोहणका लागि पर्यटकहरु आउने गरेका एम क्यापका प्रमुख शेरचनले जानकारी दिए ।
यस क्षेत्रमा विश्वको आठौँ अग्लो मनास्लु हिमाल, ५ हजार एकसय ६० मिटर अग्लो लार्केपास, कालताल, वीरेन्द्रताल, अहिंसा क्षेत्र चुम उपत्यका, नुब्री उपत्यका आदिको अवलोकन गर्न पर्यटक जाने गर्छन् ।
सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको हो ।




