
गोरखामा महिला हराउनेको संख्या बर्सेनि बढ्दो
गोरखामा हरेकवर्ष महिला हराउने संख्या बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷०८० मा हराएका तथा फेला परेका मानिसहरुको विवरणमा सबै भन्दा धेरै संख्यामा महिला हराएका देखिएको हो ।
कार्यालयको वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ७८ जना महिला हराएको पाइएको छ । हराएकामध्य ५७ जना फेला परेको र २१ जना अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । सोही वर्ष ३५ जना पुरुष हराएकोमा २३ जना फेला परेको, १२ जना फेला नपरेको जनाइएको छ ।
त्यस्तै २८ जना बालिका हराएकोमा २६ जना फेला परेको र २ जना फेला पर्न बाँकी रहेको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) अनुपम श्रेष्ठले बताए । त्यस्तै, ९ जना बालक हराएकोमा ७ जना फेला परेको र २ जना फेला नपरेको र ६ जना जेष्ठ नागरिक हराएकोमा ५ जना फेला परेको र १ जना फेला पर्न नसकेको उनले बताए ।
अहिले सबैको हातहातमा मोबाइल पुग्नुका साथै सामाजिक सञ्जालका कारण महिला धेरै हराउने क्रम बढ्न थालेको कार्यालयको तर्क छ ।
त्यस्तै, बालबालिकाहरु भने घर तथा पारिवारि आर्थिक अवस्था, लालनपालन लगायतका कारण हराउने गरेको जनाएको छ ।
त्यसअघि आर्थिक वर्ष २०७८÷०७९ मा गोरखामा ७८ जना महिला हराएकोमा ७५ जना मात्र फेला परेको थियो । सो वर्ष ४३ जना बालिका हराएकोमा ४३ जना नै फेला परेका थिए भने १८ जना बालक हराएकोमा १७ जना मात्र फेला परेको प्रहरी कार्यालय गोरखाले जनाएको छ । त्यस्तै, ६ जना जेष्ठ नागरिक हराएकामा ४ जना मात्र फेला परेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७७÷०७८ मा ७० जना महिला हराएकामा ६२ जना मात्र फेला परेको र २४ जना बालिका हराएकोमा सबै जना फेला परेको एसपी श्रेष्ठले बताए । सोही वर्ष ६ जना बालक र ४ जना जेष्ठ नागरिक हराएकामा सबैजना फेला परेका कार्यालयले जनाएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९÷०८० मा गोरखाका विभिन्न स्थानमा वेवारिसे अवस्थामा रहेका महिला ४ जना, बालक ११ जना, जेष्ठ नागरिक ३ जना र बालिका ७ जना फेला परेका थिए । उनीहरु ११ जनालाई आफन्तलाई जिम्मा लगाएको र १४ जनालाई मानव सेवा आश्रमलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हराएकाहरुमध्य कतिपय भेटिए पनि आफन्तजनले प्रहरीमा खबर नगरेका कारण प्रहरीको अभिलेखमा हराइरहेको देखिने एसपी श्रेष्ठले बताए । हराएका बेला आत्तिएर खोजिदिन अनुरोध गर्न आउने तर फेला परेरपछि प्रहरीलाई वास्ता नगर्ने प्रवृत्तिले यथार्थ तथ्यांक राख्न नसकिने उनले बताए ।




