
अब राहदानीको बायोमेट्रिक विवरण संकलन र वितरण कार्यालय समयमा मात्र
यसअघि बिहान छ बजेदेखि साँझ छ बजेसम्म हुँदै आएको राहदानीको बायोमेट्रिक विवरण संकलनको काम अब कार्यालय बिहान १० देखि साँझ पाँचबजेसम्म मात्र हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक सूचना जारी गर्दै कार्यालय समयमा मात्र राहदानीको बायोमेट्रिक विवरण संकलन र राहदानी वितरण गर्न थालेको हो । साउन महिनाबाट बिहान १० देखि साँझ ५ बजेसम्म मात्र उक्त सेवा प्रवाह हुन थालेको कार्यालयले जनाएको छ ।
सेवाग्राहीको चापलाई मध्यनजर गर्दै यसअघि कार्यालयले बिहान ६ देखि साँझ ६ बजेसम्म उक्त सेवा दिदै आएको थियो । सेवाग्राहीको चाप घटेसँगै सेवा प्रवाहको समय पनि घटाइएको प्रशासकीय अधिकृत चुणानिधी तिवारीले बताए ।
राहदानीका लागि मिति र समय लिएका सेवाग्राहीले तोकिएको मिति र स्थानमा उपस्थित हुन प्रशासनले आग्रह समेत गरेको छ । अन्यथा सेवा दिन नसकिने प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए ।




