
गोरखामा डाँका चोरी आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागी कारागार चलान
बारपाक सुलिकोट गाउँपालिका–६ मैलुङकी तिलकुमारी देवकोटाको घरमा डाका चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
चोरीको आरोपमा प्रहरीले सोही वडाको डाँडाथोक बस्ने ४० बर्षीया कनकुमारी आले मगर र पोखरीगैराका २९ बर्षीय बिक्रम सुनारलाई पक्राउ गरेको थियो । जिल्ला अदालतको साउन २ गते जिल्ला अदालतको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
उनका अनुसार बिगत तीन÷चार महिना अगाडिदेखि सो घरमा डाँका गर्ने योजना बनाएको र उक्त कार्यका लागि अन्य ठाउँबाट मानिसहरु झिकाई उक्त घरमा डाँका चोरी गरेको उनीहरुले वयानको क्रममा बताएका छन् । गत जेठ ८ गते तीन÷चार जना अपरिचित व्यक्ति गरगहना र धनमाल चोरी गर्ने मनसायले एक्कासी भान्सा कोठाभित्र प्रवेश गरी देवकोटाको घाँटीमा धारिलो हतियार समेत प्रहार गरेका थिए ।
देवकोटाले हारगुहार गरेपछि उनीहरु भागेका थिए । दुई जना पक्राउ परेपनि घटनामा संलग्न अन्य केही फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




