
यो बर्षका लागि नयाँ जिल्ला दररेट कायम
आर्थिक बर्ष २०८०÷०८१ का लागि जिल्लाको नयाँ ज्यालादर तथा निर्माण सामग्रीको नयाँ दररेट कायम गरिएको छ । जिल्ला दररेट निर्धारण समितिको आइतवार बसेको बैठकले कायम गरेको नयाँ दररेट अनुसार दक्ष कामदारको ज्यालामा बृद्धि भएको छ ।
यसअघि प्रतिदिन १ हजार २१० रुपैया ज्याला कायम भएपनि यस आर्थिक बर्षमा बढाएर १ हजार २४० पु¥याइएको छ । अर्धदक्ष कामदारको दैनिक ज्याला ९ सय ९० कायम गरिएको छ । अदक्ष कामदारको ८ सय ७५ रुपैया कायम गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
सदरमुकामबाट उत्तरी गोरखाका क्षेत्रमा हेलिमार्फत सामान ढुवानीका लागि प्रतिकेजी १ सय ७० रुपैया भाडादर कायम गरिएको छ । सिर्दिवास, उहिया, काशिगाउँ र केरौजामा भने प्रतिकेजी १ सय ५० रुपैया ढुवानी भाडा कायम भएको प्रजिअ भुसालले जानकारी दिए ।
कुटेको गिटीको प्रति घनमिटर २ हजार १ सयदेखि २ हजार २ सयसम्म कायम भएको छ । २०–४० मी.मी. को प्रति घनमिटर २ हजार १ सय र त्यसभन्दा सानो आकारको गिटी प्रति घनमिटर २ हजार २ सय रुपैया कायम गरिएको समितिले जनाएको छ ।
क्रसरको गिटीको दररेट प्रति घनमिटर २ हजार रुपैया कायम गरिएको छ । ‘सरदमुकामका लागि धोएको राम्रो गुणस्तरको बालुवा प्रतिघनमिटर २ हजार २ सय र नधोएको गिटीको २ हजार रेट कायम गरेका छौ,’ प्रजिअ भुसालले भने ।
चिरानका लागि सदरमुकाम ल्याइने काठको पनि प्रजाति अनुसार दररेट निर्धारण गरिएको छ । तराइको सालको काठ (अग्राख) को प्रति घनफिट ५ हजार २ सय रुपैया दररेट कायम गरिएको छ । स्थानीय स्तरको सालको काठ (अग्राख) को प्रति घनफिट ४ हजार ४५५ रुपैया कायम गरिएको छ । सिसौ, चाप र साजको काठको प्रति घनफिट २ हजार ७ सय र आप, सल्ला तथा अन्य (कुकाठ) को प्रति घनफिट १ हजार ८ सय कायम भएको समितिले जनाएको छ ।
धानको भुस, गोवर मल र कुखुराको सुलीको प्रति केजी ११ रुपैया दररेट कायम गरिएको छ । भेँडाको मलको प्रतिडोको २ सय ५० रुपैया कायम भएको छ । गोला सहित मौरीको घारको प्रतिगोटा १० हजार ५ सय र मौरी घारको ४ हजार ४ सय रुपैया दररेट कायम गरिएको समितिले जनाएको छ ।
समितिले निर्धारण गरेको नयाँ दररेट अनुसार धानको बिउतर्फ जेठोबुढोको प्रतिकेजी १५० र सावित्री÷मंसुलीको ७० रुपैया रहेको छ । मकैको बिउ, तोरीको बिउ, भटमास, रैथाने कोदो बिउ र रैथाने फापर बिउको प्रति केजी २ सय रुपैया कायम भएको छ । स्थानीय आलुको बिउको मूल्य प्रति केजी १ सय २० निर्धारण गरिएको छ ।




