| बुधबार, कार्तिक २५, २०८३

गण्डकी गाउँपालिकाको तीस ठाउँमा सिसि क्यामेराको निगरानी

गण्डकी गाउँपालिकाले बिभिन्न ठाउँमा सिसि क्यामेरा जडान गरेर निगरानी बढाएको छ । तीस वटा क्षेत्रलाई निगरानी गर्ने गरी ६० वटा सिसि क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्र राजश्व छली, चोरी÷निकासी रोक्न र शान्ति सुरक्षा कायम गर्न सिसि क्यामेरा जडान गरिएको सूचना प्रविधि अधिकृत मुकुन्द न्यौपानेले बताए । नवप्रबर्तन साझेदारी कोषको राजश्व सुधार कार्यक्रम अन्तरगत सिसि क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।

पालिकाभित्रका प्रत्येक चोक, मुख्य नाका र राजमार्ग क्षेत्रमा क्यामेरा जडान गरिएको बताइएको छ । बुटारमा दुई वटा क्यामेरा, फिस्लिङमा दुई, ज्यामिरेघाटमा दुई र सिउरेनटीटार बेनिघाट पुलमा दुइ वटा सिसि क्यामेरा जडान गरिएको छ । वडा र चोकलाई कभर हुने गरी पनि क्यामेरा जडान गरिएको पालिकाले जनाएको छ ।

पालिकाभित्र चोरी निकासी बढी भएकाले सिसि क्यामेरा जडान गरिएको बताइएको छ । नवप्रबर्तन साझेदारी कोष कार्यक्रमका लागि पालिकाको ६० लाख र प्रदेश सरकारबाट एक करोड ४० लाख प्राप्त भएको थियो ।

सो रकमबाट पालिका भित्रका सबै वडामा डिजिटल वडा पत्र निर्माण गरिएको,सूचना बोर्डहरु राखिएको, प्रहरी कार्यालयलाई कम्युटर वितरणसँगै पालिकाको मोबाइल एप्लिकेसन निर्माण लगायतका कार्य गरिएको प्राविधि अधिकृत न्यौपानेले बताए ।

सोहि कार्यक्रम अन्तरगत राजस्व सुधार कार्यक्रमका लागि सिसि क्यामेरा जडान गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्