| बुधबार, कार्तिक २५, २०८३

गोरखाका विभिन्न ठाउँमा वृक्षरोपण कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका वडा नं १० विरेन्चोकमा रहेको रत्नराज्य माविमा वृक्षारोपण तथा विरुवा गोडमेल कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गोरखा तारानगर र लियो क्लव अफ गोरखा तारानगरको संयुक्त आयोजनामा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

क्लवले अगिल्लो वर्ष रोपेको विरुवाहरुलाई गोडमेल गर्नुका साथै पहिले रोपेको ठाउँमा मरेका विरुवाहरुको सट्टामा २१ बटा नयाँ विरुवा म्याग्नेट्रिक, अशोका, कपुर, धुपी, र पुलका विरुवाहरु विरुवा रोपिएको क्लवका सचिव विभोर कुमालल बताए । गतवर्ष रोपेको विरुवामध्ये करिब ९० प्रतिशत विरुवा संरक्षण भएको र हुर्केको विद्यालयका प्रधानाध्यपक तेजबहादुर नेपालीले बताए ।

क्लवका अध्यक्ष लायन सुनिल कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यपक तेजबहादुर नेपाली, क्लवका संस्थापक अध्यक्ष सुरेन लामिछाने, निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक ३२५ जे नेपाल जोन १० का जोन चियरपर्सन यम बसेल, क्लवका प्रथम उपाध्यक्ष गणेश बानियाँ, लियो क्लव अफ गोरखा तारानगरकाका संस्थापक अध्यक्ष तथा लियो जिल्ला परिषद ३२५ जे नेपालका रिजन मनास्लुका रिजन कोडिनेटर सुरज मालबुल, लियोका अध्यक्ष संजित आलेले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै, गोरखा नगरपालिकाको आयोजनामा गणेशस्थान गोरखा दरबार परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम भएको छ । सो क्षेत्रमा वृक्षारोपण गरिएको नगरपालिका वातावरण अधिकृत धु्रवप्रसाद घिमिरेले बताए । जसमा जापानिज गुल्मर, चुवा, पारिजात, असारे फुल, म्याङ्गो स्ट्रीक, धुपी लगायतका विरुवा वृक्षारोपण गरिएको उनले बताए । नगरप्रमुख कृष्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्ययक्ष, वडा सदस्य, टोल विकास संस्था, उद्योग वाणिज्य संघ, तीन वटै सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस्तै, सिरानचोक गाउँपालिका वडा नं ६ स्थित नयाँसाँगुको शिवालय मन्दिर परिसरमा पनि वृक्षारोपण गरिएकोे छ । रोटरी क्लव अफ बज्र मनास्लु, रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको सयक्त आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम भएको हो । शनिबार एक कार्यक्रमका बीच वृक्षारोपण कार्यक्रम सम्पन्न भएको रोट्रयाक क्लव अफ बज्र मनास्लुका अध्यक्ष सन्दिप बयलकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्