| बुधबार, कार्तिक २५, २०८३

विद्युत र खानेपानीजस्ता सेवा अवरुद्ध हुन नदिन सम्बन्धित निकायलाई निर्देशन

विद्युत, खानेपानी, टेलिफोनजस्ता अत्यावश्यक सेवाहरु अवरुद्ध हुन नदिन सम्बन्धित कार्यालयहरुलाई सचेत गराइएको छ । बिहिवार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले ती सेवामा समस्या देखिए तत्काल समाधान हुनेगरी आवश्यक प्रवन्ध मिलाउन सम्बन्धित निकायलाई सचेत गराएको हो ।

‘विपदको समयमा यस्ता लाइफलाइनका सेवाहरु अवरुद्ध हुन सक्छन्,’ समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भने, ‘आवश्यक प्रवन्धसहित तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई भनेका छौँ ।’ बैठकले स्थानीय विपद व्यवस्थापन कार्य सञ्चालन केन्द्रलाई चलायमान बनाउन जिल्लाका सबै पालिकालाई आग्रह गरेको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रसँग समन्वय तथा स्वचालित सूचना आदान प्रदान हुने व्यवस्था मिलाउन समेत आग्रह गरिएको प्रजिअ भुसालले बताए । बर्खायाममा बाढी पहिरोको कारण हुने विपद जोखिम न्यूनीकरणको पूर्वतयारी, उद्धार, राहत र पुनस्र्थापनाको लागि सबै सरोकारवाला क्षेत्रहरु बीच आवश्यक समन्वय र सहकार्य गर्न भनिएको छ । उद्धार सामाग्री र सुरक्षाकर्मी टोली तयारी अवस्थामा राख्ने निर्णय बैठकले गरेको छ ।

विपद्का समयमा टेलिफोन, विद्युत, खानेपानी जस्ता सेवाहरु अवरुद्ध हुन सक्ने हुँदा त्यस्ता सेवामा समस्या देखिए तत्काल समाधान हुनेगरी सम्बन्धी निकायले आवश्यक प्रबन्धसहित तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । गैर खाद्य सामग्री तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई भनिएको छ । सडक अवरुद्ध भए तत्काल सुचारु हुनेगरी आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको छ ।

वैठकले आगामि साउन महिनाबाट जिल्लाका स्थानीय तहहरुमा मनसुनजन्य प्रतिकार्य आपतकालीन कार्ययोजना २०८० लागु गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा जिल्लाका स्थानीय तह र सरकारी कार्यालयका प्रमुखहरुलाई आगामि बर्षबाट विपद पूर्व तयारीको कार्ययोजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिन आग्रह समेत गरिएको प्रजिअ भुसालले जानकारी दिए ।

बैठकमा सशस्त्र प्रहरी बल गोरखा गुल्मका डिएसपी सुजित विष्टले नेपाल र गोरखाको विपदको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । प्रजिअ भुसालले विपद व्यवस्थानका लागि जिल्लामा विपद र उद्धार तथा परिचालित सुरक्षाकर्मीको अवस्था, विपद घटनाको क्षतिको विवरण, विपद व्यवस्थापनका चुनौती र समस्याका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

विपद व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहसँग भएको स्रोत साधनलाई मितव्ययी तरिकाले संचालन गर्न उनले आग्रह समेत गरेका छन् । बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले पालिकाको विपद राहत कोषमा ४० लाख रकम राखिएको बताउदै पालिका भित्रका सबै वडामा त्रिपाल, औषधी लगायतका विपदमा चाहिने सामग्री पठाइसकेको बताए ।

कार्यक्रममा आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले विपद राहत कोषमा पालिकाले ६० लाख छुट्याएको बताइन् । भिमसेनथापा गाउँपालिकाले विपद व्यवस्थापनका लागि बर्खायाम नयाँ ट्रयाक खोल्ने काम बन्द गरेको जनाएको छ ।

गोरखा नगरपालिकाका वातावरण अधिकृत धुव्रप्रसाद घिमिरेले विपद व्यवस्थापनका लागि नगरपालिकाको १४ वटै वडामा त्रिपाल, पाइप लगायतका आवश्यक सामग्रीहरु ‘स्टक’ राखिएको बताए । नगरपालिकाभित्रका ७५ वटा खुल्ला ठाउँको पहिचान गरिएको र छुट्टै विपद पोर्टल बनाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्