| बुधबार, कार्तिक २५, २०८३

गोरखामा भएको बुद्धिचाल प्रतियोगिताको व्यवस्थापन खर्च माग गर्दै ध्यानाकर्षण

गत असोज २३ गतेदेखि कात्तिक ३ गतेसम्म गोरखामा सञ्चालित वुद्धिचाल प्रतियोगिताको व्यवस्थापन खर्च जिल्ला खेलकुद बिकास समिति गोरखाले अझै भुक्तानी पाएको छैन ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत गोरखा क्याम्पसमा भएको बुद्धिचाल प्रतियोगिताको व्यवस्थापन खर्चबापतको करिब दुईलाख रुपैयाँ भुक्तानी नपाएको भन्दै जिल्ला खेलकुद बिकास समिति गोरखाले विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको छ ।

वुधवार प्रेस बिज्ञप्ती जारी गर्दै समितिले सो रकम भुक्तानी पाउनका लागि आवश्यक बिल भर्पाइ र कागजात राष्ट्रिय खेलकुद परिषदमा पठाए पनि परिषदका सदस्य सचिव टंकलाल घिसिङले भुक्तानी नदिएको भन्दै आपत्ति जनाएका छन् । समितिका अध्यक्ष कृष्णसिंह बस्न्यात (शान्त) द्वारा हस्ताक्षरित बिज्ञप्तिमार्फत उक्त रकम भुक्तानी गरिदिन माग गरिएको छ ।
सो प्रतियोगिताको व्यवस्थापनका लागि एक लाख ९० हजार रकम खर्च भएको समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गत असोज २३ देखि कात्तिक ३ गतेसम्म भएको प्रतियोगिताको बुद्धिचाल खेल गोरखामा भएको थियो । उक्त खेल सम्पन्न गर्न लाग्ने खर्च परिषदले व्यहोर्ने सहमति भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ । बिल भर्पाइ लगायतका कागजात प्रतियोगिता सम्पन्न भएलगतै पठाए पनि परिषदका सदस्य सचिव घिसिङले रकम भुक्तानी नदिएको भन्दै समितिले ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्