| बुधबार, कार्तिक २५, २०८३

‘पैसा जति तिर्नुपरे पनि तिरौंला, मल चाहियो’

सिरानचोक गाउँपालिका ४ चोरकाटेकी इन्दिरा पोखरेलले यो रोपाइँमा ५० केजी मलको माग गरेकी हुन्, तर पाइन्, जम्मा पाँच केजी । उनी आवद्ध जन्मभूमि बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध करिब चौधसय जना किसानले सय–सय किलो मल मागेका छन् । तर अहिलेसम्म पालिकाले सबैलाई पाँच–पाँच किलो मात्र उपलब्ध गराएको छ ।

‘बाँकी मल तेब्बर बढि तिरेर पसलमै किनेका छौँ’, सहकारीकी व्यवस्थापकसमेत रहेकी पोखरेल भन्छिन्, ‘सहकारीले १८०० बोरा मल माग गरेको छ । तर अहिलेसम्म जम्मा ६६ बोरा मात्र पाएको छ ।’ अनुदानको मल पाउन नसक्दा किसानले प्रतिकिलो २५ रुपैयाँमा पाइने युरिया मललाई ७०, ७५ रुपैयाँसम्म तिर्नुपरेको उनले बताइन् । ‘व्यापारीहरुले सिधै नारायणगढबाट ल्याएर प्रतिकिलो ७०, ७५ रुपैयाँमा बेच्छन्’, उनी भन्छिन्, ‘किसानलाई नभै भएको छैन । सरकारले दिन सक्दैन, अनि जति तिर्नुपरे पनि तिरेर किन्नुपर्छ ।’

अनुदानको मल कृषि सामग्री संस्थानले प्रतिबेरा ७५० र साल्ट ट्रेडिङले प्रतिबोरा रु ८०० मा उपलब्ध गराउने गरेकामा व्यापारीहरुले नारायणगढको पसलबाट प्रतिबोरा १८०० रुपैयामा ल्याएर यहाँ २४०० मा बेच्ने गरेको उनले बताइन् ।
पालुङटार नगरपालिका ९ बिर्दीको खहरे कृषि सहकारी संस्थाले खाँचो परेका बेला युरिया मल पाएको छैन ।

पाएको २३ बोरा डिएपी मल प्रहरी राखेर ८५ जना किसानलाई बितरण गरेको अध्यक्ष उमेश ढकालले बताए । प्रतिबोरा २५२० रुपैयाँमा ल्याएर हामीले ढुवानी भाडा र लेबर ज्याला जोडेर प्रतिकिलो ५८ रुपैयाँका दरले बितरण ग¥यौँ’, उनले भने, ‘युरिया मल भने अझै आएको छैन ।’ खाँचो परेका बेला बर्षेनी मलको हाहाकार भएको उनले बताए ।

यसअघि मलको वितरण गर्ने जिम्मा लिएको उपभोक्ता सहकारी संघले मलको सँधै हाहाकार भएपछि केहीबर्ष यता जिम्मा लिन छाडेको अध्यक्ष ऋषिराज धौरालीले बताए । ‘किसान पैसा जति परे पनि तिर्छौँ, बोरा–बोरा मल चाहिन्छ भन्छन्, तर सरकारले दिने मल हात्तीको मुखमा जीरा जस्तो मात्रै हुन्छ’, उनले भने, ‘हामीले जति कराए पनि काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ जस्तो मात्र भएको छ । केही गरौँला भनेर काम गर्न खोज्दा खोज्दै, कुरा बुझ्दै बुढो भइयो । किसानको माग पूरा गर्न सकिएन ।’ कुनैबेला सहकारीले प्रतिबोरा एघारसय रुपैयाँमा उपलब्ध गराएको मल अहिले २४०० मा कालोबजारी भइरहेको उनले बताए ।

अहिलेसम्म गोरखा नगरपालिकामा युरिया ९३.१५ मेट्रिकटन र ५४ मेट्रिकटन डिएपी प्राप्त भएको छ । पालुङटार नगरपालिकामा १०१.०५ मेट्रिकटन युरिया र ४८.५ मेट्रिकटन डिएपी प्राप्त भएको छ । त्यस्तै गण्डकी गाउँपालिकामा ८१.३५ मेट्रिकटन युरिया र ५४ मेट्रिकटन डिएपी प्राप्त भएको छ ।

सहिदलखन गाउँपालिकामा ५५.९५ मेट्रिकटन युरिया, २७.७ मेट्रिकटन डिएपी, भीमसेन थापा गाउँपालिकामा ४१ मेट्रिकटन युरिया र ३५.२५ मेट्रिकटन डिएपी, आरुघाट गाउँपालिकामा ३५.१५ मेट्रिकटन युरिया र २१ मेट्रिकटन डिएपी प्राप्त भएको छ । त्यस्तै सिरानचोक गाउँपालिकामा ४६.७५ युरिया र २३ मेट्रिकटन डिएपी, बारपाक सुलीकोट गाउँपालिकामा २४.२ मेट्रिकटन युरिया र ११.६५ डिएपी मल प्राप्त भएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ ।

जिल्लाका लागि अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका ०७७ ले आफूहरुका लागि कुनै भूमिका नदिए पनि मन्त्रालयले सहजीकरण गर्न पत्राचार गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्