| बुधबार, कार्तिक २५, २०८३

धार्चेमा लम्पी स्किनबाट २५ वटा गाइगोरु मरे, ५ सयबढी पशु संक्रमित

धार्चे गाउँपालिकामा लम्पी स्किनको संक्रमणबाट २५ वटा गाईगोरु मरेका छन् ।

त्यस्तै ५ सय एक गाइगोरुमा संक्रमण फैलिएको पालिकाको पशु शाखाले जनाएको छ । पशु स्वास्थ्य प्राविधिक देवेन्द्र निरौलाका अनुसार यो जेठ ८ देखि असार २५ गते सम्मको तथ्यांक हो । उनका अनुसार वडा नम्वर १ मा ७१ वटा, वडा नम्वर २ मा ८५ वटा, वडा नम्वर ३ मा ७४ वटा, वडा नम्वर ४ मा ६९ वटा, वडा नम्वर ५ मा ८६, वडा नम्वर ६ मा ६३ र वडा नम्वर ७ मा ५३ वटामा संक्रमण देखिएको हो ।

संक्रमित गाइगोरुमा एन्टिबायोटिक इन्जेक्सन र मलम लगाइएको उनले जानकारी दिए । लाप्राकको लेकमा रहेका गोठका गाईगोरुमा संक्रमण फैलिएको बताइएको छ । वडा नम्वर ३ र ६ मा पनि संक्रमण फैलिएको पालिकाले जनाएको छ ।

त्यस्तै उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पारमा पनि गाइगोरुमा लम्पी स्किनको संक्रमण देखिएको छ । स्थानीय दोर्जे लामाले पालेर राखेको पशुमा संक्रमण देखिएको बताइएको छ । चुमनुब्रीमा हालसम्म लम्पीस्किनको संक्रमणका कारण ६ वटा गाईगोरु मरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्