| बुधबार, कार्तिक २५, २०८३

गोरखामा ३० प्रतिशत रोपाइँ सकियो

जिल्लामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सकिएको छ । गत बर्षको तुलनामा यो कम हो । कृषि ज्ञान केन्द्रका अनुसार गतबर्ष यो समयसम्म करिव ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।

समयमै बर्षात नभएका कारण रोपाइँ हुन नसकेको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए । ‘यो बर्ष मनसुन पनि ढिला सुरु भयो, मनसुन आएपछि पनि पर्याप्त बर्षा हुन सकेन,’ उनले भने, ‘पर्याप्त पानी नभएपछि रोपाइँ गर्न समस्या भयो ।’ लम्पीस्किन रोगका कारण माथिल्लो भेगका केही क्षेत्रमा रोपाइँ प्राभावित बनेको उनले जानकारी दिए ।

‘बारपाक अजिरकोट, अजिरकोट र आरुघाटका क्षेत्रमा हाते ट्याक्टरभन्दा गोरुबाट रोपाइँ हुने रहेछ, तर अहिले गोरुहरुमा लम्पीस्किन रोग देखिएपछि खेत जोत्न नपाएर पनि रोपाइँ हुन सकेको छैन,’ अधिकारीले भने । गत बर्षको तुलनामा यो बर्ष धान रोपाइँ प्रतिशतपनि घट्ने र उत्पादनमा समेत केही कमी आउने उनले जानकारी दिए । उनकाअनुसार गतबर्ष जिल्लामा ९५ प्रतिशत धान रोपाइँ भएको थियो । यसबर्ष मुस्किलले ८० प्रतिशत पुग्ने उनले बताए । गतबर्ष ४९ हजार ४३० मेट्रिकटन धान उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट, भीमसेनथापा र गण्डकी गाउँपालिकामा धान खेती हुने गरेको छ । कुल ११ हजार दुईसय ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको बताइएको छ । जिल्लाका किसानले सावित्री, मन्सुली, रामधान, सुख्खा एक÷दुई जातका धान लगाउदै आएका छन् । पछिल्लो समय महाराजा, च्याम्पियन, यूएस ३१२ लगायतका हाइब्रिड जातको धान लगाउन समेत सुरु हुन थालेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्