
दुरसञ्चार सेवाको गुणस्तरमा ध्यान दिन सरोकारवालाको आग्रह
नेपाल दुरसञ्चार प्राधिकरणको सेवा गुणस्तरीय बनाउन जिल्लाका सरोकारवालाहरुले आग्रह गरेका छन् । गोरखा सदरमुकाममा शनिबार भएको दुरसञ्चार सेवाको गुणस्तर सम्बन्धमा सरोकारवालाहरुको भूमिका, चुनौती तथा सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।
नेपाल दुरसञ्चार प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा बोल्दै संघिय सांसद राजेन्द्र बजगाईले उत्तरी गोरखासँगै सामुदायिक बिद्यालयमा जडान गरिएको फोन तथा इन्टरनेट सेवा प्रभावकारी नभएको बताए । प्राधिकरणले सामाजिक सेवा क्षेत्रमा खर्च गर्नुपर्ने ग्रामीण दुरसंचार कोषमा भएको रकम समेत खर्च नगरेको उनले जानकारी दिए । आर्थिक वर्षको अन्तिममा गर्ने कार्यक्रमको बजेट सक्ने वाहेकको अन्य उपलब्धी नहुने भन्दै आगामी बर्षहरुमा यस्तो गल्ती नदोहो¥याउन उनले सुझाव समेत दिए ।
कार्यक्रममा बोल्दै गोरखा नगरपालिका मेयर कृष्ण रानाले सेवाको गुणस्तरमा समेत ध्यान दिन प्राधिकरणलाई आग्रह गरे ।
उपभोक्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोरजंग थापाले विजुली गएसँगै टेलिफोनको लाइन जाने समस्या समाधान गर्न सुझाव दिएका छन् । गोरखामा फोन र इन्टरनेटको सेवामा सन्तुष्टि मान्ने आधार नभएको उनको भनाइ छ । नेपाल दुरसञ्चार अन्तरगत रहेका सबै फोन तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरुले शुल्कसँग सेवाप्रवाहमा पनि प्रतिस्पर्धा गर्न उनले जोड दिए ।
पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकालले जिल्लाका सरकारी कार्यालयहरुमा समेत इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राहीहरु मर्कामा पर्ने गरेको बताए ।
गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले इन्टरनेट सेवा प्रभावकारी नहुँदा अनलाइन मार्फत हुने कारोवार प्रभावित हुने गरेको गुनासो गरे ।
गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जिल्ला विभिन्न ठाउँमा राखिएको नेपाल टेलिकमको टावरबाट क्षमता अनुसार सेवा प्रवाह नभएको बताए ।
क्यान गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापाले सेवा प्रवाह सम्बन्धमा नियमक निकायको निरन्तर अनुगमन आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा प्राधिकरणका निर्देशक मिन प्रसाद अर्यालले दुरसञ्चारको गुणस्तर सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था, गुणस्तर सम्बन्धमा दूरसंचार ऐनको प्रावधान, दुरसंचार सेवाको गुणस्तर सम्बन्धी विनियमावाली २०७९ का मुख्य विशेषता, इन्टरनेट सेवाको न्यूनतम स्तर लगायतका बिषयमा सहजिकरण गरेका थिए ।




