| बुधबार, कार्तिक २५, २०८३

गोरखामा अपर माछाखोलापछि अब सुपर माछाखोला जलबिद्युत आयोजना बन्ने, पिपिए सम्पन्न

गोरखाको धार्चे गाउँपालिकास्थित माछाखोलामा ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत आयोजना बन्ने भएको छ । ४.५ मेगावाटको अपरमाछाखोला जलविद्युत आयोजना सञ्चालन भएलगत्तै सोही टिमले फेरि सुपरमाछाखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

अपरमाछाखोला आयोजनाभन्दा केही माथि सुपर माछाखोला जलविद्युत आयोजना बन्न लागेको बताइएको छ ।

बुढीगण्डकी हाइड्रोपावर प्रालिले उक्त आयोजना निर्माण गर्न लागेको हो । आयोजना निर्माणका लागि प्रालि र नेपाल विद्युत प्राधिकरण बीच बिहिबार विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता (पिपिए) भएको छ ।

बिहिबार एक कार्यक्रमका बिच नेपाल बिद्युत प्राधिकरणका अनुगमन तथा सुपरीवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरे बीच पिपिए सम्झौता भएको हो ।

सम्झौता अनुसार बर्खाको समयमा प्राधिकरणले प्रतियुनिट ४ रुपैया ८० पैसा र हिउँदमा ८ रुपैया ४० पैसामा विद्युत किन्ने सहमति भएको प्रालिका संचालक सरोज धितालले बताए ।

बर्खापश्चात काम सुरु गर्ने र तीन बर्षभित्र काम सक्ने लक्ष्य रहेको उनले जानकारी दिए । आयोजना निर्माणका लागि करिव एक अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्