| बुधबार, कार्तिक २५, २०८३

गोरखामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिहिबार कार्यक्रम भएको हो ।

कार्यक्रममा आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको हक र व्यवहारिक प्रयोगका बारेमा सहजिकरण गरेका थिए । उनले सूचनाको हकको प्रचलनको ऐतिहासिक पक्ष, सार्वजनिक निकाय र तीनका दायित्व, सूचनाको हकको प्रयोगबाट सुशासनमा पुग्ने योगदान लगायतका बिषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा आयोगका उपसचिव रामप्रसाद ढकालले नेपालमा सूचनाको हकको अभ्यास, यसका सिद्धान्तहरु, सार्वजनिक निकायको दायित्व र सूचनाको संरक्षण, सूचनाको दुरुपयोग र सूचनाको हकका सन्दर्भमा चुनौतीहरु लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरुले जिल्लामा सरकारी कार्यालयहरुमा प्रष्टसँग नागरिक बडापत्र नराखिएको, विकास निर्माणका योजनाहरुको विवरण योजना स्थलमा नराखिएको लगायतका विषयहरु उठान गरेका थिए ।

सूचना आयुक्त मैनालीले सुचनाको वर्गीकरण र अद्यावधिक गरी सार्वजनिक प्रकाशन तथा प्रशारण गरिराख्नुपर्ने बताए । सूचनामा नागरिकको सरल र सहज पहुँच हुनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गोरखाका सरकारी कार्यालयहरुले आगामि साउनबाट प्रत्येक तीन÷तीन महिनामा कार्यालयको गतिविधि प्रकाशन गर्न निर्देशन दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्