
डुम्रे बेशिसहर सडकमा नाली छैन, सडक धमाधम कालोपत्रे हुदै
डुम्रे–वेशिसहर सडक धमाधम कालोपत्रे भइरहेको छ । सडक विभागको करिब ३४ करोड लागतमा आशिष अनेस्ट जेभी निर्माण कम्पनीले सडक दुईलेन बनाएर कालोपत्रे गरिरहेको हो ।
८.५ किलोमिटर सडक कालोपत्रे गर्ने योजनामध्य हाल दुईकिलो मिटर खण्ड कालोपत्रे भइसकेको डुम्रे बेशिसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

तर नाला नबनाई सडक कालोपत्रे गरेको भन्दै स्थानीयबासीले आलोचना गरेका छन् ।
‘एकबित्ता पनि नाला नबनाई सडक कालोपत्रे गरेर यहाँ लाजमर्दाे काम भइरहेको छ’, स्थानीय शिव ढकालले भने, ‘नालै नबनाई सडक कालोपत्रे गर्ने यो कस्तो काम हो ? नाला बनाउनु प¥यो भनेर हामीले कराएको करायै छौँ, तर न ठेकेदारले सुन्छ, न कार्यालयले सुन्छ । यस्तो अचम्मको काम भइरहेको छ, बसेर बोले कसैले सुन्दैन, उठेर बोले हावाले उँडाइदिन्छ ।’ धुलोमाथि सडकको डिलसम्मै पिच गरेको उनले बताए ।
‘उँधो खेत, छ, माथिल्लो गराको डिलसम्म सडक पिच गरेको छ । कुल्चिँदा पनि पहिरिएर तल्लो गरामा पुगिएला जस्तो छ । यस्तो ठाउँमा नाला कहाँ बनाउने हो ? हामीले कुरा नबुझेका हौं कि, सडक विभागले आँखा चिम्लेको हो ?’, उनी प्रश्न गर्छन्, ‘माथिल्लो गराको डिलसम्म सडक पिच गरेको छ, तल्लो गरामा मेरो घर छ । यस्तो ठाउँमा न नाला बनाउन मिल्छ, न सिँडी बनाउन मिल्छ ।’ दिनहूँ इञ्जिनियर हेर्न आइरहने तर यस्तो अबस्थाको वास्ता नगरेको उनले आरोप लगाए । ‘हामीले भनेको कुरा सुन्या नसुन्यै, देख्या नदेख्यै गर्छन्’, उनले भने ।

सो सडक नौ मिटरको भए पनि कल्भर्ट भने आठ मिटरको भएको भन्दै स्थानीयबासीले आलोचना गरेका छन् । ‘स्टिमेटै यस्तै भए प्राविधिकको गल्ती भयो, ठेकेदारले यस्तो बनाएको भए कसरी बिल पास हुन्छ ? हेरौँ’, अर्का स्थानीय विपिन मगरले भने, ‘बजेट अपुग भए बरु धेरै काम नहोस्, तर यस्तो सरकारको आँखामा छारो हाल्ने काम गर्नुहुन्न ।’

तर कार्यालय प्रमुख दासले भने नाला बनेको दाबी गरेका छन् । ‘जहाँ पिच छ, त्यहाँ नाला छ’, उनी भन्छन्, ‘बस्ती भएको ठाउँमा केही डिजाइन परिवर्तन गर्ने कार्यक्रम छ ।’




