| बुधबार, कार्तिक २५, २०८३

हत्या आरोपमा एक व्यक्ति पक्राउ

पालुङटार नगरपालिका–१ खोप्लाङस्थित एस एण्ड एस एकीकृत कृषि तथा पशुपंक्षी फर्ममा कार्यरत बिशाल भन्ने आइतराम कामीको हत्या आरोपमा सोही ठाउँका परशुराम सुनार पक्राउ परेका छन् । चितवन स्थायी घर भएका मृतक आइतरामका आफन्तले दिएको जायरीको आधारमा सोमवार सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही असार १५ गते राती अन्दाजी दश बजे आइतराम टाउकोमा गम्भिर चोट सहित घाइते अवस्थामा भेटिएका थिए । फर्म संचालक भाइकृष्ण सुनारले उनलाई उपचारका लागि छेवेटारस्थित गोरखा मेमोरियल अस्पताल पु¥याएका थिए । थप उपचारका लागि उनलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो । उपचारको क्रममा उनको सोमवार मृत्यु भएपछि मृतकका आफन्तले प्रहरी कार्यालयमा जायरी दिएका हुन् ।

‘पहिले लडेर घाइते भएको भन्ने खवर आयो, तर हामीले अनुसन्धान गरिरहेका थियौ,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘अनुसन्धान गर्दै जाँदा वादविवादको क्रममा परशुरामले आइतरामलाई चिर्पटले टाउको हिर्काएर घाइते बनाएको भन्ने खुल्यो ।’ सोही चोटका कारण आइतरामको मृत्यु भएको उनले बताए । पक्राउ परेका परशुराम बिरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्