| बुधबार, कार्तिक २५, २०८३

गर्मी छल्न लेक लागे गोठाला, पाटन र खर्कमा रौनक (फोटो फिचर)

केशव गुरुङ :

धार्चे ४ लाप्राकका लेकका खर्कहरु अहिले गाईबस्तुले भरिभराउ भएका छन् । गर्मीयाम सुरु भएसँगै वर्षभरि खालि रहेका रुप्सी, माल्बु, निम्रा, च्वाकाङ, सिङ्गुरा, ताप्ले, राजनखर्क लगायतका लेकका खर्कहरु भरिभराउ भएका हुन् ।
वर्षभरि छरिएर रहने गोठहरु वर्षदिन पछि लेकका खर्कहरुमा एकै ठाउँ भेट हुँदा रौनक झनै बढेको छ ।

यहाँ वर्षमा एक पटक यसैबेला लेकमा गोठ लैजाने परम्परा छ । हरेकवर्ष गोठ समितिले निर्णय गरेपछि मात्र असारको अन्तिम साता लेकमा गोठ लैजाने परम्परा छ ।

रुप्से खर्क

गोठ समितिकै निर्णयअनुसार असार १८ गते यहाँका गाईगोठहरु लेक खर्कहरुमा पुगेका जेसन गुरुङले बताए । अहिले रुप्सीमा ९ वटा, स्योङ्गरामा ६ वटा, माल्बुमा ५ वटा र च्वाकाङमा दुई वटा गोठ पुगिसकेका गुरुङले बताए । अहिले लेक पुगेका गोठहरु साउनका अन्तिम सातादेखि क्रमश बेसी झर्न सुरु गर्ने उनले जानकारी दिए ।

यहाँका भेँडीगोठ, गाईगोठ, भैँसीगोठ बर्खा लागेसँगै लेक उक्लिने र हिउँद सुरु भएपछि बेसी झर्ने गर्दछन् । बर्खामा बेसीमा गर्मी हुने र हिउँदमा हिमालमा चिसो छल्न गोठालाहरु गाईबस्तु लिएर लेकबेसी गर्दै आएका छन् ।

अहिले यहाँका गोठालाहरु सबै आ–आफ्नै काममा व्यस्त छन् । लेकमा खेतीबाली नहुने र प्रशस्त घाँस मात्र हुने भएकाले गाईबस्तुलाई साँझ बिहान गोठमा ल्याएर नबाँधी छाडा छोड्ने चलन छ । लेकमा घाँस प्रशस्त हुने भएकाले गाईबस्तु छाडा छोड्ने गोठालाहरु बताउँछन् ।

गोठालाहरु दिनमा दाउरा टिप्ने, पुराना खर्कहरु मर्मत गर्ने र फलेक ताछ्ने काममा व्यस्त हुने गरेको छ ।
त्यस्तै भेडीगोठ भने गत असार ६ गते नै लेकमा पुगिसकेका छन् । यहाँ गाईगोठको तुलनामा भेँडीगोठ केही समय अगाडि लेक उक्लने गर्दछन् । लेखर्क, राजन खर्क हुँदै लेक पुगेका भेडीगोठ क्युकेलाङकुलुङ, गापे चे, भुल्मे पुसा हँुदै खय चाङसम्म पुगेर भर्दौ महिनामा बेसी झर्ने गर्दछन् । गाईगोठको तुलनामा भेँडीगोठ छिटो लेक उक्लने र ढिलो गरी बेसी झर्ने गर्दछन् ।

असारदेखि भदौ असोजसम्म भेडी गोठ लेक रहने गोठाला सुरमान गुरुङले बताए । यसपछि हिउँदमा हिमाल हिउँ पर्न सुरु हुन्छ । यस बेला लेकमा बढि चिसो हुने, घाँसहरु सबै हिउँ र आइसले ढाकिने हुँदा भेँडीगोठहरु सबै बेसी झर्ने गर्दछन् । बर्खाको समयमा बेसीमा बढी गर्मी हुने भएकाले भेडीगोठहरु लेक उक्लने गरेको उनको भनाइ छ ।

कात्तिक र मंसीर दुई महिना भेँडीगोठ गाउँ वरिपरि रहन्छ । पुसदेखि वैशाखसम्ममा लाप्राकका भेँडीगोठ बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी, आप्रीक, थुमी लगायतका ठाउँमा चरिचरनका लागि ल्याउने गरिन्छ । त्यस क्षेत्रमा चरिचरन उपभोग गरेबापत प्रतिगोठले बार्षिक सातदेखि आठ हजारसम्म शुल्क तिर्ने गरेको छ ।

लाप्राकका भेडीगोठ, गाईगोठहरु चरिचरनका लागि कुनै समस्या नरहे पनि नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा गोठको संख्या बर्सेनी घट्दै गएको स्थानीयहरु बताउँछन् ।

गोरखाको उत्तरी भेगमा व्यवसायिक भेडा पालनको लागि राम्रो मानिन्छ । यहाँका बासिन्दाले परापूर्वक कालदेखि भेडा पाल्दै आएका छन् तर नयाँ पुस्ता भेडा पालनप्रति चासो नदेखाउँदा यहाँको परम्परा नै मासिने अवस्थामा पुगेको स्थानीयहरु बताउँछन् ।

तस्बिर : जेसन गुरुङ

प्रतिक्रिया दिनुहोस्