| बुधबार, कार्तिक २५, २०८३

सिरानचोकको नीति तथा कार्यक्रम : पालिकालाई ऐतिहासिक पर्यटकीय स्थल घोषणाका लागि पहल गरिने

सिरानचोक गाउँपालिकालाई ऐतिहासिक पर्यटकीय स्थल घोषणाका लागि पालिकाले बिशेष पहल गर्ने भएको छ । पालिकाले सार्वजनिक गरेको आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सिरानचोककोटमा आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ ।

नेपाल सरकारको सहयोगमा नेपाली सेनाद्वारा तयार गरिने एकीकरण पदमार्गमा सिरानचोककोटको ऐतिहासिक गौरवमय योगदानलाई समावेश गर्नका लागि आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘बाबा गोरखनाथले बाल्यकाल बिताएको स्थान श्रीनाथ र बाल्यकाल अवस्थामा हेरचाह गर्ने देवी मण्डलीनाथ सम्प्रदायको बसोवास रहेको स्थान जोगी गुफाको शिवालय मन्दिर र मानव निर्मित गुफाको संरक्षण एवं सम्वद्र्धन गर्दै शक्तिपिठको रुपमा प्रचार प्रसार गर्ने नीति समेत लिएका छौँ’, पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने ।

पालिकाको सीमाक्षेत्र एकिन गरी सिमानामा कलात्मक एवं पालिकाको ऐतिहासिक मौलिकता झल्कने प्रवेशद्वार निर्माण गर्ने योजना समेत रहेको उनले जानकारी दिए ।

मातृभाषा शिक्षा कार्यक्रमलाई प्रवद्र्धन गर्ने र बालश्रममुक्त पालिका घोषणा गर्ने पालिकाको योजना छ । बराम, कुमाल र दलितहरुका साथै विपन्न बर्गहरुको लागि बिशेष कार्यक्रम ल्याउने र उनीहरुको परम्परागत पेशा, कला र संस्कृतिको संरक्षण गरिने पालिकाले जनाएको छ । टिमुर, अलैँची, ओखर तेजपत्ता, अम्रिसो, चिराइतो, कटहर, केरा, सुन्तला, आँप चिउरी लगायतको कृषि वन तथा नर्सरीको बिकास गरिने बताइएको छ ।

एक वडा एक बाली बिशेष पकेट कार्यक्रम संचालन गर्ने नीति पालिकाको छ । स्थानीय उद्योगलाई करछुट, अनुदान तथा सहुलियत ऋणको व्यवस्था गरिने र अपाङ्गता भएका व्यक्तिहरुले संचालन गरेको उद्योग व्यवसायमा तोकिएको करमा ५० प्रतिशत छुट दिइने व्यवस्था मिलाउने पालिकाले जनाएको छ ।

वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयसम्म पुग्ने सडकलाई पक्की सडकको रुपमा निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने बताइएको छ । आगामि आर्थिकबर्ष गाउँपालिकाको संस्थागत भवन, वडा नम्वर ४ र ७ को वडा कार्यालय भवन निर्माण कार्य अघि बढाइने पालिकाको योजना छ । साथै वडा नम्वर १, २, ३ र ६ को वडा कार्यालय भवनको थप निर्माण कार्य अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्