| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिकामा बाँसबाट हस्तकलाका सामाग्री बनाउने तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा बासबाट हस्तकला बनाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा संचालन भएको तालिम विहिबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

गत जेठ २ गतेबाट सुरु भएको बाँसबाट हस्तकला कुर्ची, टेबल बनाउने तालिम असार १४ गते विहिबार सम्पन्न भएको नगर उपप्रमुख मसली माया थोकरले बताइन् । उनका अनुसार तालिममा नगरपालिका भित्रका वडा नं ५, १० र १२ का गरी २२ जनाको सहभागिता रहेको थियो । तालिममा बाँसबाट बन्ने मुढा, कुर्ची, चुरा राख्ने स्ट्यान्ड, फोटो राख्ने फ्रेम लगायतका सामाग्री बनाइएको उनले जानकारी दिए । तालिममा गोपाल भुजेलले प्रशिक्षण दिएका थिए ।

स्थानीय महिलाहरुलाई लक्षित गरी उक्त तालिम संचालन गरिएको बताउदै महिलाहरुले पनि अवसर पाए भने पुरुष सरह काम गर्न सकिन्छ भन्ने तालिमबाट पुष्टि भएको उनले बताइन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी रोजगारी सृजनाको प्रमुख आधार तयार गर्ने भन्ने नाराका साथ नगरउपप्रमुख सवाल नेतृत्व कार्यक्रम अन्तरग उक्त तालिम संचालन भएको हो । महिलाहरु संस्थागत रुपमा उद्यमी बन्नका लागि तालिम संचालन गरिएको उनको भनाइ छ ।

महिलाहरुलाई स्वरोजगार र आत्मानिर्भर बनाउनका लागि तालिम संचालन गरिएको वडा अध्यक्ष प्रदिप कुँवरले बताए ।
गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको अध्यक्षता तथा नगरप्रमुख कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा नं १ंंंं० का वडाध्यक्ष प्रदिप कुवर, सामाजिक बिकास साखाका प्रमुख बिजयभक्त उपाध्यय, कार्यपालिका सदस्य सावीत्रा थापा मगर, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्