| बुधबार, कार्तिक २५, २०८३

गोरखाका किसान रोपाइँमा व्यस्त, किसान भन्छन् : हलोगोरु भन्दा ट्याक्टर लाउन सजिलो (फोटो फिचर)

गोरखाका कृषकहरु यतिबेला धान रोपाइमा व्यस्त छन् । समयमै वर्षात नहुँदा आधा असार सकिँन लाग्दा जिल्लाका कृषकहरुले भर्खर धान रोपाइँ सुरु गरेका हुन् ।

अहिले पालुङ्टार नगरपालिका–१ स्थित भुसुन्डे र दरौदी फाँट तथा सिरानचोक गाउँपालिका–४ को दरौदी फाँटमा रोपाइँको चटारो सुरु भएको छ ।

धान रोपाइमा यस अघिका वर्षहरु गोरुको प्रयोग भएता पनि अहिले भने टयाक्टरको प्रयोग बढ्दै गएको छ । गोरु भन्दा ट्याक्टर छिटो र सजिलो हुने भएकाले ट्याक्टर प्रयोग गरिएको सिरानचोक गाउँपालिका ४ चोरकाटेका टोपबहादुर कुमालले बताए । किसानहरुले गोरु पाल्न छोडेको र कृषिमा आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेतबारी जोत्नका लागि ट्याक्टर प्रयोग बढ्दै गएको उनले बताए । विगत ६÷७ वर्ष देखि नै ट्याक्टर प्रयोग गर्दै आएको उनको भनाइ छ ।

सिरानचोक गाउँपालिका ५ चोरकाटेका ७९ वर्षीय धन नारायण कुमाल पनि यति बेला खेतमै व्यस्त छन् । आली ताछ्ने, आली लगाउने, कुलो मर्मत गर्ने काम भइरहेको बताउदै अव खेतमा गोरुको काम बाँकी रहेको उनले बताए । तर गोरुलाई भने लम्पीस्कीन रोग लागेका कारण टयाक्टर प्रयोग गरी रोपाइ गर्ने उनको तयारी छ ।

धान रोपाइँ गर्दा सजिलो र छिटो हुने भएपछि अधिकांश कृषक गोरु पाल्न छाडेर ट्याक्टरप्रति आकर्षण बढेको उनी बताउँछन् । टयाक्टर प्रयोग गरेबापत प्रतिघण्टा तीन हजार लिने गरेको उनको भनाइ छ ।

त्यस्तै, सिरानचोक गाउँपालिका वडा नं ४ चोरकाटेका लक्ष्मी कुमाल पनि असारे धान काटेपछि रोपाइको तयारी सुरु गरेको बताइन् । गोरु भन्दा टयाक्टर नै सजिले भएकाले ब्याडको बिउ हेरेर रोपाइँ सुरु गरिएको उनले बताइन् । उनका अनुसार धान रोपाइँमा ज्यालास्वरुप रोपार लाई ६ सय र वाउसेलाई एक हजार दररेट चलेको छ । खेतलाभन्दा अर्मपर्म गरेर नै रोपाइँ गर्ने प्रचलन रहेको उनले बताइन् ।

गोरखामा १२ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुँदै आएको छ । हालसम्म करिव १० प्रतिशत खेतमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । गोरखामा किसानले सावित्री, मकवानपुर १, रामधान, महाराजा, हर्विनाथ १, सुख्खा ३, नेपाली हाइब्रिट जातका धान लगाउने गर्छन् ।

तस्बिर : केशव गुरुङ÷दरौदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस्