| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिका १३ का कृषकहरुलाई नौ लाख बराबरको कृषि तथा पशुपन्छी सामग्री वितरण

गोरखा नगरपालिका वडा नं १३ का कृषकलाई नौ लाख ५० हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको छ । वडाभित्र रहेका कृषकलाई स्वरोजगार तथा उद्यमी बनाउनका लागि ६ प्रकारका कृषि तथा पशुपन्छी साम्रग्री वितरण गरिएको वडा अध्यक्ष मित्रा परियारले बताइन् ।

बुधबार एक कार्यक्रमका बीच स्प्रेपम्प ८९ वटा, मौरीको घार ५९ वटा, मकै छोडाउने मेसिन १० वटा, धान कुट्ने मिल तीन वटा र एक हजार लिटर क्षमताको ५ वटा पानी टंकी वितरण गरिएको उनले जानकारी दिइन् ।

कुखुराका दाना, पानी खुवाउने आठ लिटरका भाडा ४ सय ७० वटा र दाना खुवाउने भाडा ४ सय ७० वटा वितरण गरिएको बताइएको छ । वडाभित्रका एकसय ६२ वटा संस्था, फर्म, व्यक्ति र टोल विकास संस्थालाई उक्त सामग्री वितरण गरिएको हो ।

आर्थिकवर्ष २०७९÷०८० को बजेटले उक्त कृषि सामग्री वितरण गरिएको उनले बताइन् । सो कृषि सामग्रीमध्ये स्प्रेपम्प २० प्रतिशत, मौरीको घार २५ प्रतिशत, मकै छोडाउने मेसिन ३० प्रतिशत, धान कुट्ने मेलमा ४० प्रतिशत, पानी हिल्ड्याकमा २० प्रतिशत र कुखुराको दानी पानीको भाडामा २० प्रतिशत किसानको लागत सहभागिता रहेको वडा अध्यक्ष परियारले जानकारी दिइन् ।

बैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरुको रोक्न र कृषि कर्म गरिराखेका किसानहरुलाइ राहत महसुस गराउनका लागि उक्त सामग्री वितरण गरिएका उनले बताइन् ।

वडा अध्यक्ष परियारको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकास संस्थाबाट धनकुमारी गुरुङ, वडा सदस्य कृष्णप्रसाद काराखेती लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्