
मनकामनाको धर्मशालामा तालाबन्दी
मनकामना मन्दिर परिसरमा रहेको धर्मशालामा स्थानीयबासीले तालाबन्दी गरेका छन् । योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्ने प्रयोजनका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भाडामा दिन नपाइने भन्दै उनीहरुले बुधवार तालावन्दी गरेका हुन् ।
सो धर्मशालालाई बिगत ४० बर्षदेखि गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि लिजमा दिदै आएको स्थानीय मनोज जोशीले बताए । धर्मशालालाई धर्मशालाकै रुपमा प्रयोग गर्न स्थानीय गुठीयारले माग गर्दै आए पनि बेवास्ता गरेपछि भवनमा ताला लगाइएको उनले जानकारी दिए ।
‘धर्मशाला भवन २०७२ सालको भूकम्पपछि पूर्ण रुपमा जीर्ण छ । यस्तो अवस्थामा भएको भवन कसैलाई थाहा नदिई गुठी संस्थानले फेरि भाडामा लगाउन टेण्डर आव्हान ग¥यो,’ उनले भने, ‘बिरोध स्वरुप हामीले ज्ञापनपत्र बुझायौँ, मन्त्रीलाई पनि भन्यौँ तर गुठी संस्थानले टेरेन । त्यसैले आज तालाबन्दी गर्न बाध्य भयौँ ।’ सात दिने अल्टिमेटम दिएपनि वेवास्ता भएपछि वुधवार ताला लगाइएको उनले बताए ।
भूकम्प पश्चात जिर्ण बनेको धर्मशालालाई भत्काएर पछाडिको जग्गामा बनाउने र त्यसलाई धर्मशालाकै रुपमा प्रयोग गर्नुपर्ने स्थानीयको माग छ । २०७२ सालयता कुनै टेण्डर आव्हान नगरी भित्रि रुपमा सम्झौता गरी आर्थिक हिनामिना गरेको आशंका समेत स्थानीयले गरेका छन् ।




