
गोनपा ५ पस्लाङमा मगर समुदायले सांस्कृतिक सम्पदा खोज, पहिचान र सूचीकरण
गोरखा नगरपालिका वडा नं ५ पस्लाङका मगर समुदायले जोरनर्सिङ्गा फुकेर पञ्चैबाजा बजाएर मगर संस्कृति पहिचानका लागि प्रदर्शनी तथा प्रस्तुती कार्यक्रम सम्पन्न गरेकोछ । गोरखा नगरपालिकाको सहयोगमा गोरखा सामुदायिक सिकाइ केन्द्रले सहजिकरण गरेको सो कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
लोप हुदै गइरहेको मगर समुदायको सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धनका लागि खोजी, चासो र जागरण बढाउन सरोकार पक्षहरू बीच उक्त कार्यक्रम गरिएको सिकाइ केन्दले जनाएको छ । मगर समुदायहरूसँग रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको खोजी तथा पहिचान गरी सूचीकरण गर्ने सन्दर्भमा भएको प्रस्तुतीकरण तथा प्रदर्शनी कार्यक्रममा मगर पोशाकमा सजिएका हरेक कलाकारहरुले मारूनी नाच, पञ्चैबाजा, दोहोरी झ्याउरे जस्ता विभिन्न संस्कृतिक प्रदर्शनी गरेका थिए ।
सांस्कृतिक सम्पदाको प्रवर्धन कार्यलाई सरोकारवाला समुदायको चासो र सरोकारको विषय बनाउने सन्दर्भमा स्थानीय मगर सांस्कृतिक सम्पदासँग सम्बन्धित ९ जना श्रोत व्यक्तिहरू रहेको एक मगर संस्कृति प्रवर्धन रोष्टर समेत निर्माण गरेको छ । रोष्टरमा स्थानीय टोल समिति अध्यक्ष, मगर गुठी अध्यक्ष, मगर महिला समूह प्रतिनिध, पस्लाङ होमस्टे विकास समिति अध्यक्ष, पस्लाङ पञ्चैबाजा समूह अध्यक्ष लगायत गरी ९ जना सो रोष्टरमा रहेका छन् ।
संस्कृति प्रवर्द्धनलाई कसरी आयआर्जन सँग जोडेर गर्न सकिन्छ भनी खोज गर्ने सन्दर्भमा अनौपचारिक शिक्षा अन्तरगत गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सो कार्यक्रम सञ्चालन भइरहेको छ ।
पस्लाङ टोल विकास सँस्थाका अध्यक्ष भाइकाजी आलेको अध्यक्षतामा भएको कार्यक्रममा गुठीका अध्यक्ष थलबहादुर थापा मगर, वडा नं ५ का कार्यवाहक वडाअध्यक्ष हरेराम पोखरेल, होमस्टेका अध्यक्ष मानबहादुर राना र पञ्चैबाजा समूहका जुनबहादुर राना, संस्थाका सदस्य शिवराम कट्टेल, सदस्य सानुमाया बस्नेतले ले मन्तव्य व्यक्त गरेका थिए ।




