
गोरखामा दश बर्ष पुराना एम्वुलेन्स चल्न नपाउने
दशबर्ष पुराना एम्वुलेन्सहरु जिल्लामा चल्न नपाउने भएका छन् । मंगलवार बसेको जिल्ला जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । ‘राष्ट्रिय एम्वुलेन्स निर्देशिका २०७८ मा नै त्यो कुरा उल्लेख छ,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले भने, ‘त्यही आधारमा हामीले निर्णय गरेका हौ ।’ एम्वुलेन्ससँग ब्लू बुक लगायतका आवश्यक कागजात माग गर्ने निर्णय समेत भएको उनले जानकारी दिए ।
संचालन अनुमति पत्र नविकरण भएनभएको पनि चेकजाँच गरिने बताइएको छ । खड्काका अनुसार एक पटक लिएको अनुमति पत्रले दुई बर्षसम्म काम गर्छ । त्यसपश्चात पुनः नविकरण गर्नुपर्ने हुन्छ । जिल्लाभित्र संचालनको अनुमति लिई बाहिर संचालनमा रहेका एम्वुलेन्सलाई नियन्त्रणमा लिन सम्बन्धित जिल्लाका ट्राफिक र प्रहरी कार्यालयमा खवर भइसकेको खड्काले जानकारी दिए ।
यता भन्सार छुटमा एम्वुलेन्स ल्याउन माग गर्दै जिल्लाका आठ वटा संघसंस्थाले जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिमा आवेदन दिएका छन् । सात वटा स्वास्थ्य संस्था र एक वडा कार्यालयको आवेदन परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकी, बारपाक सुलिकोट गाउँपालिकाको सहिद प्रेम ढकाल स्मृती आधारभूत अस्पताल, आरुघाटको थुमी स्वास्थ्यचौकी, चुमनुव्रीको सिर्दिवास स्वास्थ्य चौकी र पालुङटार नगरपालिकाको कोटगणी आधारभूत स्वास्थ्य केन्द्रले आवेदन दिएको कार्यालयका सूचना अधिकारी खड्काले बताए ।
उनका अनुसार गण्डकी गाउँपालिकाको दर्वुङ स्वास्थ्य चौकी, सिरानचोक गाउँपालिकाको श्रीनाथकोट स्वास्थ्य चौकी र गोरखा नगरपालिका वडा नम्वर ३ को कार्यालयले पनि भन्सार छुटमा एम्वुलेन्स ल्याउन माग गरेका छन् ।
राष्ट्रिय एम्वुलेन्स निर्देशिका २०७८ ले माग गरे बमोजिमका मापदण्ड पुरा भएमा मात्र उनीहरुलाई अनुमति दिइने समितिले जनाएको छ । मंगलवार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । ‘उहाहरुले बुझाउनु भएको सबै डकुमेन्ट हेर्छाै, सबै मापदण्ड पुरा भएपछि पत्राचार गरेर उहाहरुलाई खवर गर्छाै,’ सूचना अधिकारी खड्काले भने ।




