| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगर क्षेत्रमा खानेपानी वितरणलाई व्यवस्थित गरिने, नगरपालिकाद्धारा ऐन जारी

गोरखा नगर क्षेत्रभित्र खानेपानी वितरण कार्यलाई व्यवस्थित गर्न ‘खानेपानी तथा सरसफाइ ऐन २०८०’ जारी गरिएको छ । नगरपालिकाले जारी गरेको उक्त ऐनमाथि शुक्रवार सरोकारवालाबिच छलफल भएको छ । छलफलको क्रममा आवश्यक सुझाव समेत संकलन गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त ऐनमा नगरपालिकाभित्र खानेपानी सेवाको समग्र व्यवस्थापन तथा संचालन नगरपालिका आफैले वा आफ्नो स्वामित्वमा रहेको बोर्ड अन्तरगतको संस्था मार्फत गर्ने बताइएको छ । यसका लागी नगर प्रमुख अध्यक्ष रहेको एघार सदस्यीय खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन गरिने नगरपालिकाद्धारा जारी ऐनमा उल्लेख गरिएको छ । नगर क्षेत्रमा खानेपानी सेवा संचालन गरिरहेका सामुदायिक संस्था वा उपभोक्ता समूह नगरपालिकाको मातहतमा रहने समेत बताइएको छ ।

ऐनमाथि शुक्रवार भएको छलफल कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लमजुङका प्रमुख शेरचन्द्र केसीले बजारक्षेत्रका दुई ठूला आयोजनामा डेढ अर्व भन्दा बढी खर्च भएपनि आपसी टकरावका कारण पर्याप्त खानेपानी वितरण हुन नसकेको बताए । गोरखा बजारलाई पुग्ने पर्याप्त पानी भएता पनि वितरण हुन नसकेको उनको भनाइ छ ।

खानेपानी मन्त्रालय अन्तरगत सहरी खानेपानी आयोजनाका निर्देशक रत्न लामिछानेले उपभोक्ता समितिहरुकै कमजोरीका कारण गोरखाबासीलाई पर्याप्त मात्रामा पानी वितरण हुन नसकेको बताए । बोर्ड गठन गरेर व्यवस्थित तरिकाले खानेपानी पानी वितरण गर्नुपर्ने उनको भनाइ छ ।

खानेपानी वितरण कार्यको अधिकार स्थानीय तहलाई नै भएकाले गोरखा नगरपालिकाले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सुशील अर्यालले खानेपानी बोर्डका पदाधिकारी नगरपालिकाको अधिनमा नभई स्वतन्त्र हुनुपर्नेमा जोड दिए । खानेपानी बोर्डमा नगरप्रमुख संरक्षकका रुपमा मात्र रहनुपर्ने बताउदै उनले कार्यसमिति भने स्वतन्त्र रुपमा चयन हुनुपर्ने धारणा राखे ।

उपभोक्ता संरक्षण मञ्च गोरखाका सचिव किरण लोहनीले खानेपानी बोर्ड गठन हुँदा बोर्डको उपसमितिमा उपभोक्ताहरुको तर्फबाट पनि प्रतिनिधित्व हुनुपर्ने बताए । खानेपानी बोर्ड गठन भएपछि अहिलेको खानेपानी वितरणमा देखिएको बेथिति, अनियमितता पनि हल हुने विश्वास व्यक्त गरेका थिए ।

दरौदी गोरखा (वृहत लिफ्टिङ) खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विनोद अर्यालले खानेपानी बोर्ड मार्फत सबै खानेपानी उपभोक्ता समितिलाई एकीकृत गर्नुपर्ने बताए । बिद्युत अनियमितताका कारण नियमित रुपमा पानी वितरण गर्न कठिनाइ भएको उनको भनाइ छ । नगरपालिकाभित्र रहेका पानीका मुहानहरुको संरक्षण गर्दै शुल्कमा समानता हुनुपर्ने बद्री मास्केले बताए ।

नगरपालिकाले जारी गरेको ऐन आगामी नगरसभाबाट पारित गरिने नगर प्रमुख कृष्ण रानाले बताए । खानेपानी उपभोक्ता समितिहरुकै कमजोरीका कारण बोर्ड गठन गर्नुपरेको बताउँदै उनले बोर्ड मार्फत खानेपानी सेवा प्रवाहलाई सहज र नियमित बनाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्