
सहिदलखनको आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक
सहिदलखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीवार गाउँपालिकाको १३ औ अधिवेशनको अवसर पारेर पालिका अध्यक्ष रमेश थापा मगरले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कृषितर्फ ‘एक वडा एक कृषि उपज संकलन केन्द्र’र‘एक वडा एक नर्सरी’ स्थापना गर्ने नीति पालिकाले लिएको छ । कृषि उपजको सहज बजारिकरणका लागि कृषि एम्वुलेन्स सेवा संचालन गर्ने योजना रहेको पालिकाले जनाएको छ । रैथाने बालीलाई संरक्षण गर्दै उन्नत जातका बालीहरुलाई व्यवसायिकरण गर्दै विद्यालयको दिवा खाजा कार्यक्रममा जोड्ने पालिकाको योजना छ ।
रेशम खेती कार्यक्रमलाई प्रोत्साहन गर्ने र साना सिंचाईका लागि ‘एक वडा एक पोखरी’ निर्माण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ । बाँदर आतंक न्यूनिकरणका लागि सामुदयिक वन तथा सार्वजनिक जग्गामा फलफूल लगायतका विरुवा रोप्ने बताइएको छ । नश्ल सुधार पशुहरुको संख्यामा बृद्धि गर्ने पालिकाको योजना छ ।एक वडा एक महिला सहकारी स्थापना गरी महिला सहभागिता तथा सशक्तिकरण वृद्धि गर्ने नीति बनाइएको छ ।
पर्यटन क्षेत्रको बिस्तार र बिकासका लागि होमस्टेहरुलाई प्रोत्साहन गरिने भएको छ । मनकामना–बक्रेश्वरी–तोरेनगढी–तीनमाने–चुलेभिर–लखन थापा स्मारक हुँदै गोरखा कालिका सम्मको पदमार्ग विकास गर्ने पालिकाको योजना छ ।
पुरातात्विक, धार्मिक एवं सांस्कृतिक तीर्थ स्थलहरुमा पुग्ने सडक स्तरोन्नतीका लागी पहल गर्ने र मनकामना मन्दिरलाई बिश्व सम्पदा सूचिमा सूचिकृत गर्न आवश्यक पहल गर्ने पालिकाले जनाएको छ । ‘प्रथम सहिदलखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न आवश्यक पहल गर्नेछौ,’ पालिका अध्यक्ष मगरले भने, ‘साथै उनीसँगै देश र जनताको लागि बलिदानी दिने महान् सपूतहरु जयसिंह चुमी राना मगर, विराज थापा मगर, जीतमान गुरुङ, अजपसिंह थापा मगर र जुठ्या थापा मगरलाई सहिद घोषणा गर्न पनि पहल गर्ने नीति लिएका छौ।’
प्रथम जनविद्रोहको रुपमा कुराल राना मगर, कानु(कालु) लम्साल, सुकदेव गुरुङ, सुपति गुरुङ र सन्त ज्ञान दिल दासलाई सम्मानको व्यवस्था गर्ने बताइएको छ । स्थानीय जातजातिहरुको भेषभूषा संस्कृतीको संरक्षण गर्न चेपाङ लगायत अन्य संग्रहालयहरुको स्तरोन्नति तथा निर्माण गर्ने योजना पालिकाको छ ।
गुन्द्री, चकटी, मान्द्रो, डोको, थुन्से, हलो, कुटो, कोदालो निर्माण जस्ता रैथाने परम्परागत स्थानीय सीपको बिकास र प्रवद्र्धनमा जोड दिने बताइएको छ ।
‘सहिद लखन युवा स्वरोजगार घुम्ती कोष’संचालन गरी आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने योजना रहेको पालिकाले जनाएको छ । उत्कृष्ट सिकाइ उपलब्धि भएका शिक्षक तथा विद्यालयलाई विशेष अनुदान तथा प्रोत्साहन गर्ने र एक विद्यार्थी एक सीपको कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । ‘दिवा खाजा कार्यक्रममा टेवा पुग्ने गरी उक्त सिपलाई प्रयोग गरी विद्यालयलाई टनेल सहित व्यवसायिक खेती गर्नका लागि प्रोत्साहन गर्ने योजना समेत रहेको पालिकाले जनाएको छ ।
पालिकाभित्रका सम्भावित सामुदायिक बिद्यालयलाई आवासीय बिद्यालयको रुपमा अघि बढाउनका लागि बिद्यालयका पूर्वाधार बिकासमा जोड दिने बताइएको छ । माध्यमिक तह र आधारभूत तहका विद्यार्थीको प्रतिभा पहिचान गर्न नवीन प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने भएको छ।अभिभावकलाई विद्यालय आउन प्रोत्साहन गर्न उत्कृष्ट अभिभावक पुरस्कृत गर्ने नीति समेत लिइएको पालिकाले जनाएको छ ।
स्वास्थ्य तर्फ पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा चौबीसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिने बताइएको छ । ‘गाउँपालिका भित्रका दलित, जनजाति, सिमान्तकृत, अल्पसंख्यक तथा आर्थिक रुपमा विपन्न परिवारका नागरिकहरुमध्येबाट तोकिएको मापदण्डको आधारमा मेधावी विद्यार्थीहरुलाई सार्वजनिक सेवामा प्रवेशका लागि सहजीकरण गर्ने उद्देश्यले लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी अनुदान प्रदान गर्ने योजना छ,’ पालिका अध्यक्ष मगरले भने ।राजश्व संकलनमा गरेको प्रयास तथा विभिन्न सूचकका आधारमा उत्कृष्ठ कार्य सम्पादन गर्ने वडाहरुलाई कार्य सम्पादनमा आधारित अनुदान उपलब्ध गराउने नीति समेत लिइएको उनले बताए ।
पालिकाले जथाभावी नया सडक खन्ने कार्यलाइ निरुत्साहित गर्ने भएको छ । गाउँपालिकालाई पृथ्वीराजमार्गसँग सिधै जोड्नको लागि त्रिशुली नदीमा मोटरेवल पुल निर्माणको नीति लिइएको पालिकाले जनाएको छ । गाउँपालिका केन्द्रदेखि जिल्ला सदरमुकामसम्म पक्की सडक विस्तार र वडा कार्यालयसम्मको सडक कालोपत्रे गर्ने नीति पालिकाले लिएको छ ।




