
गोरखाका ग्रामीण क्षेत्रमा ट्राफिक सचेतना अभियान सुरु
गोरखाका ग्रामीण क्षेत्रमा सडक र सवारी साधनका पहुँच पुगेसँगै विभिन्न स्थानीय तहहरुमा ट्राफिक सचेतना अभियान सुरु भएको छ । मंगबारदेखि जिल्ला विभिन्न स्थानमा अभियान सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सुरक्षित ग्रामीण सडक यात्रा र सवारी हामी सबैको जिम्मेवारी नाराका साथ मंगलबार भिसमेन थापा गाउँपालिका केन्द्र खान्चोकमा कार्यक्रम आयोजना गरिएको गोरखाका ट्राफिक कार्यालयका प्रमुख बेदनाथ भण्डारीले बताए ।
उनका अनुसार असार ५ गतेबाट सुरु भएको अभियान ११ गतेसम्म संचालन हुनेछ । बर्षायाममा ग्रामीण सडकमा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान संचालन गरिएको उनले बताए । मंगलबार गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जारा, उपाध्यक्ष अमृत बस्ती, प्रदेशका सभामुख कृष्ण धिताल, वडा, टोलबासी लगायतको उपस्थितिमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरिएको उनले बताए ।
यो अभियान गोरखाको भिमसेनथापा सहित सहिदलखन, आरुघाट, धार्चे, अजिरकोट, पालुङटार, बारपाक सुलिकोट लगायतका सबै पालिका संचालन हुने उनले जानकारी दिए । सो अभियान अवधिभर सडक सवारी साधनको चेकजाँच गर्ने, सवारी साधनको इन्जिनको अवस्था, कागजपत्र, सिट क्षमता चेकजाँच गर्ने उनले बताए ।
त्यस्तै, ट्राफिक सचेतना सम्बन्धी पर्चा, पम्लेट वितरण गर्ने, समुदाय र विद्यालयमा विभिन्न प्रशिक्षण मुलक कार्यक्रमहरु संचालन गर्ने बताइएको छ । अभियानको क्रममा सिट भन्दा बढी यात्रु नराख्न, आरक्षण सिटमा सम्बन्धित व्यक्तिलाई राख्न आग्रह गरिने र सवारी चालकको स्वास्थ्य परिक्षण पनि गरिने उनले बताए ।
त्यस्तै, ग्रामीण सडकमा खाल्डाखुल्डी परेको स्थानमा सम्बन्धित स्थानीय तहलाई खाल्डा पुन लगाउने समेत उनले बताए । यसले बर्खायाम हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नमा धेरै मद्दत पुग्ने कार्यालयले जनाएको छ ।




