
एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट खन्याइयो
गोरखाको एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन गरिएको छ । पालुङ्टार नगरपालिका वडा नं. १ सातदोबाटोदेखि वडा नं. ६ गाईखुर जोड्ने सडकलाई गतबर्ष पाँचवटा र यसबर्ष तीन वटा फरक शीर्षक बनाएर बजेट बिनियोजन गरिएको हो ।
एउटै सडकमा धेरै शीर्षकमा बजेट बाँडफाँट गरी डुप्लिकेशन गर्न नहुने सरकारी मापदण्ड छ । यहाँ भने बर्षेनी एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन गर्ने गरिएको हो ।
विशेष गरी पालुङटार नगरपालिका वडा नं. १ देखि वडा नं. १० हुदै वडा नं. ६ सम्म जोड्ने सडकलाई काठमाडौँ बस्ने नेताको चलखेलमा बर्षेनी चार वा पाँच शीर्षकमा बजेट पर्ने गरेको छ ।
योजना कार्यान्वयन गर्ने ११ किलो, छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयका अनुसार आउँदो आर्थिकबर्षमा कार्यान्वयन हुने गरी पालुङटार नगरपालिका वडा नं. १ को सातदोवाटोबाट वडा नं. १० जोगीडिही, बागडाँडा, पन्थिनी हुदै वडा नं. ७ को गाईखुर जोड्ने सडकलाई पाँचकरोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सोही सडकका लागि सातदोवाटो, बागडाँडा, गाईखुर, सडक कालोपत्रेका लागि भनेर एककरोड रुपैयाँ विनियोजन भएको छ । त्यस्तै सातदोवाटो, बागडाँडा, गाईखुर सडकको बज्रेडाँडा सुपारे चाँपपानी धौखोला खण्ड कालोपत्रे तथा ढलान सहित स्तरोन्नतिका लागि भनेर ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सो सडकका लागि गतबर्ष पाँचवटा शीर्षकमा साँढे दुई करोड रुपैयाँ विनियोजन भएको थियो ।
त्यस्तै पन्थडिही कटहरे हर्मी शाहिलटार सडकका लागि आउँदो आर्थिक बर्ष कार्यान्वयन गर्नेगरी १० लाख रुपैयाँ बजेट तथा कार्यक्रम परेको छ । सोही सडकको २० किलोमिटर खण्ड भारतको एक्जिम वैँकको ८० करोड ऋण सहयोगमा कालोपत्रे गर्न केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सिलान्यास समेत गरिसकेका छन् ।
पहुँच भएका नेताले आफ्नो गाउँठाउँमा कसरी योजना तथा बजेट थुपार्छन् भन्ने यो ज्वलन्त उदाहरण भएको विदुर बराल टिप्पणी गर्छन् । ‘कतै माथैमाथ, कतै पुर्पुरामा हात’, उनी भन्छन्, ‘कतै जति माग गर्दा पनि बजेट पर्दैन, कतैचाहिँ एउटै सडकमा चार पाँचवटा शीर्षकमा बजेट पर्छ । राज्यले कसैलाई दोस्रो दर्जाको नागरिक सम्झेर सुनुवाइ गर्दैन । कसैले हातमा डाडुपन्यू भएका बेला मनपरी गरिरहेकै छन् ।’
गोरखाका विभिन्न सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ सरकारले आउँदो आर्थिकबर्ष ९८ करोड ७३ लाख रकम विनियोजन गरेको छ । ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयबाट कार्यान्वयन गर्ने गरी सो बजेट प्राप्त भएको योजना कार्यालयले जनाएको हो ।
कार्यालयका अनुसार सबैभन्दा धेरै रकम बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत परेको छ । सो शीर्षकमा ५४ करोड ६० लाख रकम प्राप्त भएको छ ।




