| बुधबार, कार्तिक २५, २०८३

फुजेलमा भेटिएको सालक सुरक्षित वासस्थानमा छाडियो

गण्डकी गाउँपालिका–४ फुजेलको फलाटे भन्ने स्थानमा भेटिएको सालकलाई नजिकैको सुरक्षित वासस्थानमा छाडिएको छ । स्थानीय प्रेम कुमार श्रेष्ठको घर नजिकैको पोखरीमा शुक्रवार बिहान भेटिएको उक्त सालक स्थानीयले सवडिभिजन वन कार्यालय सिउरेनीटारलाई बुझाएका थिए ।

स्थानीय र प्रहरीको रोहवरमा सालकलाई उपयुक्त वासस्थानमा छाडिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए । उनका अनुसार सालकलाई संरक्षित वन्यजन्तुको रुपमा लिइन्छ ।

जंगल र जंगल आसपासको खेतीयोग्य जमिनको प्वालभित्र बस्ने उक्त जीव पानी परेपछि बाहिर निस्कने भएकाले यो समयमा खेतवारीमा भेटिन सक्ने पौडेलले जानकारी दिए ।

‘नेपालमा दुई प्रकारका सालक हुन्छन्, एउटा कालो र अर्काे तामे, फुजेलमा भेटिएको तामे सालक हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्