
अन्तरविद्यालय गोर्खालीकपको सेमिफाइनलका खेल आजबाट
गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी प्रथम मिस्टर बि अन्तर विद्यालय गोर्खाली कप फुटवल प्रतियोगिता अन्तरगत आज सेमिफाइनल खेलहरु हुने छन् । पहिलो खेल दिर्घेश्वरी मावि फुजेल र बालमन्दिर मावि छहरे बीच हुने छ भने दोस्रो खेल ओल्ड क्यापिटल रानीवन र जेनियस बोर्डिङ नयाँजबार बीच हुने आयोजक हरमटारी क्लबले जनाएको छ ।
शुक्रवार भएको क्वाटर फाइनल खेलमा बिजयी हासिल गर्दै उनीहरु सेमिफाइनलमा पुगेका हुन् । पहिलो खेल दिर्घेश्वर मावि र मनकामना बोडिङ बीच भएको थियो । उक्त खेलमा २–० गोल अन्तरले दिर्घेश्वर मावि विजयी भएको क्लवका उपाध्यक्ष मनोज गुरुङले बताए ।
ओल्ड क्यापिटल बोर्डिङ र शक्ति माविबीच भएको दोस्रो खेलमा ५–४ को गोल अन्तरले ओल्ड क्यापिटल बिजयी भएको हो । निर्धारित समयमा दुवै टिमको तर्फबाट बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
तेस्रो खेल मोर्डन सेकेण्डरी स्कुल र बालमन्दिर माविबीच भएको थियो । उक्त खेलमा ३–० को गोल अन्तरले बालमन्दिर मावि बिजयी भएको हो । प्रतियोगिताको फाइनल खेल आइतवार हुने आयोजकले जनाएको छ ।




