
दुई लाख खर्चेर हरमटारीको मुख्य सडकको दाया बाँया ७५ वटा गमला राखियो
दुईलाख रकम खर्चेर गोरखा नगरपालिकाले बजार क्षेत्रमा गमला राखेको छ । हरमटारी प्रतिक्षालयचोकदेखि शहिदगेटसम्मको मुख्य सडक दायाँवाया गमला राखिएको नगरपालिकाले जनाएको छ ।
‘ठुलोआँगनको केही भागमा पनि गमला राखेका छौ,’ नगरपालिका वातावरण अधिकृत धु्रवप्रसाद घिमिरेले भने, ‘गमलाभित्र धुपीको बिरुवा रोपिएको छ ।’ कुल ७५ वटा गमला राखिएको उनले जानकारी दिए । हरियाली शहर प्रवद्र्धन कार्यक्रम अन्तरगत विनियोजित भएको दुई लाख रकमले गमला राखिएको उनको भनाइ छ ।
उनका अनुसार गमला गोरखा नगरपालिका वडा नं १२ बाट खरिद गरिएको र धुपीको विरुवा चितवनबाट ल्याइएको हो । ‘एउटा गमलाको १७ सयसम्म परेको छ र बिरुवाको प्रतिगोटा एकसय ५० रुपैया’, उनले भने ।
सानो विरुवा हुर्काउन गाह्रो हुने भएकाले हुर्किएको ठूलो विरुवा ल्याइएको उनले बताए । बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएको विरुवा र गमलाको सुरक्षाका लागि सम्बन्धित टोल विकास संस्थासँग छलफल भइरहेको बताइएको छ ।




